नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कसैसँग पनि गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।
अन्य दलहरूसँग चुनावी तालमेलको सम्भावना नदेखिएपछि एमालेले देशैभरका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने गरी अन्तिम गृहकार्य थालेको हो।
उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाउन अहिले पार्टी मुख्यालय च्यासलमा केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ। दिउँसो २ बजे बोलाइएको बैठकमा देशभरबाट सिफारिस भएर आएका नामहरूमाथि छलफल भइरहेको छ।
एमाले स्रोतका अनुसार हालसम्म कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने विषयमा ठोस सहमति वा निधो भएको छैन। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते नै उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने भएकाले अब गठबन्धनको सम्भावना क्षीण हुँदै गएको छ।
त्यसैले एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न ‘सूर्य’ लिएर उम्मेदवारहरूलाई चुनावी मैदानमा उतार्ने तयारी गरेको हो।
उम्मेदवार छनोट प्रक्रियालाई सहज बनाउन एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरिसकेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना शीर्ष नेताहरूको नाम तल्लो कमिटीबाटै सर्वसम्मत रूपमा सिफारिस भएर आएको छ।
बाँकी निर्वाचन क्षेत्रहरूमा आएका सिफारिसहरू मध्येबाट जित्ने सम्भावना र लोकप्रियताका आधारमा सचिवालय बैठकले आजै उम्मेदवारको टुंगो लगाउने बताइएको छ।
यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले उम्मेदवार चयनको सर्वाधिकार सचिवालयलाई प्रत्यायोजन गरेको थियो।
प्रकाशित: ३ माघ २०८२ १५:३४ शनिबार





