१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले विधान महाधिवेशनः कोशी प्रदेशले समूहगत छलफल सकेर प्रतिवेदन लेख्न थाल्यो

नेकपा एमालेको जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल चलिरहेको छ ।  

प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल भइरहेको छ । कोशी प्रदेशले समुहगत छलफल सकाएर प्रतिवेदन लेखन कार्य थालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  

प्रतिवेदनमाथि मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहगत छलफल गरिरहेका छन् ।  

त्यसै गरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेको गौतमले बताए ।  

आज छलफल सकेर भोलि प्रतिवेदन समूहगत नेताले प्रस्तुतीकरण गर्नेछन् । समूहगत रूपमा आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै बिषयमा सहमति  हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने गौतमले बताए । समसामयिक प्रस्ताव पारित गरेर भोलि नै महाधिवेशन सम्पन्न हुनेछ।

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले आआफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका छन् ।  

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि शुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता छ ।

प्रकाशित: २१ भाद्र २०८२ १६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App