३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

एमाले नेता पाण्डेको प्रश्न : पार्टी एकता स्पष्ट वैचारिक आधारमा गर्ने कि सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि?

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले ‘वाम एकता’को नाममा भइरहेको गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले स्पष्ट विचार, सिद्धान्त र दीर्घकालीन लक्ष्यबिनाको एकताले पार्टीको मूल्यमान्यता कमजोर बनाउने बताएका छन्।

उनले केही नेताहरू नेतृत्वमाथि संकट आएको भन्दै पुनः ‘वाम एकता’को प्रयासमा लागेका छन्, तर यस्ता प्रयासहरू विगतमा पद प्राप्तिका लागि गरिएको र अहिले व्यक्तिगत अस्तित्व जोगाउने प्रयोजनमा केन्द्रित देखिन्छन्। उनले पार्टी एकता स्पष्ट वैचारिक आधारमा गर्ने कि सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि? भन्दै प्रश्न समेत गरे।

नेकपा एमाले आफैँमा एउटा बलियो ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै पाण्डेले तात्कालिक राजनीतिक लाभभन्दा दीर्घकालीन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताएका छन्। विचार र निश्चित गन्तव्यबिनाको एकताले अन्ततः पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ।

'नेकपा (एमाले) आफैंमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी हो। हामीले तात्कालिक राजनीतिक लाभमात्र हेरेर हुँदैन, दीर्घकालसम्म यसलाई कसरी सशक्त र एकताबद्ध राख्ने भन्ने सोच्न जरुरी छ। विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ,' पाण्डेले सामाजिक सञ्जालमा भने।

पाण्डेले अहिलेको मुख्य आवश्यकता पार्टीको पुनर्निर्माण रहेको औंल्याउँदै दक्ष, क्षमतावान र विशेषगरी युवालाई पार्टीमा आकर्षित गर्नुपर्नेमा जोड दिएका छन्। अन्यथा पार्टी क्रमशः साँघुरिँदै जाने खतरा रहेको उनले चेतावनी दिए। 'अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो। यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ,' उनले भने।

विगतमा वैचारिक आधारबिनाको एकताको तीतो अनुभव भोगिसकेको उल्लेख गर्दै उनले अब पनि मौन बस्नु गम्भीर गल्ती हुने बताए। उनले नेकपा एमालेलाई सत्ता र स्वार्थभन्दा माथि उठेर विधि, सुशासन र परिणाममुखी नेतृत्वसहित नयाँ दिशामा अघि बढाउनुपर्ने धारणा राखेका छन्।

उनले भने, 'विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ। नेकपा (एमाले) लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ।'

प्रकाशित: ३ वैशाख २०८३ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App