प्रतिनिधि सभाको चुनाव आउने दिन फागुन–२१ नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलोमा लागिरहेका बेला खोटाङका नेकपा (एमाले) उम्मेदवार भने मतदाता रिझाउन जिल्लाबाहिर समय दिइरहेका छन् । नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, रास्वपा र श्रम संस्कृति पार्टीका उम्मेदवार घरदैलोमा व्यस्त भईरहेकै बेला एमाले उम्मेदवार देवविक्रम राई भने जिल्लाबाहिर खटिरहेका छन् ।
अन्य दलहरुको भन्दा पृथक तरिकाले चुनावको अभियान चलाईरहेको एमाले खोटाङले भोट माग्नकै लागि बाहिर जिल्लामा उम्मेदवार खटाएको जनाएको छ । जस अनुसार एमालेले जिल्लाबासी मतदाताहरु विभिन्न पेशा व्यवसायमा रहेर कार्यरत ठाउँहरु काठमाडौं, ईटहरी र गाईघाट खटाएर खोटाङे मतदाताहरुको मन जित्ने काम भईरहेको जनाएको छ ।
जसअनुसार एमालेले माघ १८ गते आइतबार उदयपुर सदरमुकाम गाईघाटमा भेला गरेको छ । खोटाङबाट बसाई सरेका झण्डै ६० प्रतिशत हिस्सा गाईघाटमा बसोबास गर्ने गरेको छ । अधिकतरको मतदाता नामावली बसाईसराई ल्याईसकेको भए पनि ३० प्रतिशतभन्दा बढी उतै मताधिकार भएकाहरु गाईघाट बसोबास गर्ने गरेका छन् । त्यसै कारण पनि उम्मेदवारलाई पठाएर मतदाता रिझाउने काम गरेको पार्टीले जनाएको छ ।
पार्टी अगुवा कार्यकर्ताहरुका अनुसार गाईघाटमा रहेका मतदाता मात्र सुरक्षित गर्न सके पनि चुनाव जित्न निकै सहज हुने आकलन पार्टीको छ । त्यसैले पनि गाईघाटमा भेला गर्नु अनिवार्य ठानेर उम्मेदवारलाई बोलाइएको हो ।
एमालेले गाईघाटभन्दा पहिला सुनसरीको इटहरीमा पनि भेला भेला राखेको जनाएको छ । इटहरीमा पनि खोटाङबाट झरेर पेशा व्यवसाय गर्नेहरुको संख्या निकै रहेको र निर्णायम मत सुरक्षित गर्न भेला डाकेको पार्टीले जनाएको छ । गाईघाटभन्दा थोरै भए पनि निर्णायक संख्याको मतदाता ईटहरीमा बसोबास गर्ने गरेको नेता कार्यकर्ताहरु बताउँछन् ।
एमाले उम्मेदवार राईले १७ गते मात्र काठमाडौंमा भेला गरेर मतदातासँग सहयोग मागेका थिए । खोटाङ–काठमाडौंसम्पर्क मञ्चको आयोजनामा खोटाङेहरुलाई बोलाएर उम्मेदवार राईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्ला फर्केर मतदानमा सहभागी हुन आग्रह गरेको पार्टीले जनाएको छ । भेलामा उनले मतदानमा सक्रिय सहभागिता जनाएर आफु र पार्टीलाई जिताउन आग्रह गरेका थिए ।
खोटाङमा राईसँगै नेपाली कम्युनिष्ट पार्टीबाट अर्थशास्त्री हरि रोका, कांग्रेसबाट वीरकाजी राई, रास्वपाबाट दीपक गिरी र श्रसपाबाट आरेन राई उम्मेदवार छन् । प्रारम्भिक आँकलन अनुसार मुख्य रुपमा पुराना ३ दलबीच नै प्रतिस्पर्धा हुने भए पनि रास्वपा र श्रसपालाई पनि कम आँक्न नमिल्ने प्रतिक्रिया मतदाताहरुले दिन थालेका छन् ।
खोटाङमा आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि १ लाख ४७ हजार १ सय २० मतदाता रहेका छन् । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचनक्षेत्र रहेको जिल्लामा १ सय ३६ मतदानस्थल तथा १ सय ९५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित: १९ माघ २०८२ १५:५३ सोमबार


-600x400.jpg)

-600x400.jpg)
