२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

एमालेले जोगायो ३ दशकदेखिको ‘लालकिल्ला’

तस्बिर: भीम/नागरिक <br>

देशभर राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरूलाई चुनावी प्रतिस्पर्धाबाट ‘बढारिहेका’ बेला इलाम क्षेत्र-२ मा भने नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ।

एमालेका युवा केन्द्रीय सदस्य सुहाङ नेम्बाङ यो क्षेत्रबाट फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

भर्खरै सकिएको मतगणनामा नेपाली कांग्रेसका ६१ वर्षे भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतान्तरले पराजित गर्दै ३६ वर्षे नेम्बाङ निर्वाचित भएका हुन्।

नेम्बाङले २२ हजार ४२६ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी आचार्यको १४ हजार ६५० मत आएको छ। श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० मत प्राप्त गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७ हजार ८१४, रष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ३५२, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राईले ७५१, राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्बाहाङ्फेले ८५१, जनता समाजवादी पार्टीका बलबहादुर आङ्देम्बेले १६५ र नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बूले ६० मत ल्याएका छन्।

मंगोल नेसनल अर्गनाइजेसनका श्यामबहादुर लिम्बूले ७०४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह लिङदेनले २५४, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडाले १५३ र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले २९ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२०८१ वैशाखको उपनिर्वाचनमा सुहाङ नै यो क्षेत्रमा विजयी भएका थिए। उनले २७ हजार ७ सय ७२ मत ल्याएका थिए भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खडेकाले २२ हजार ९ सय ४२ मत ल्याएका थिए।

उपनिर्वाचनमा पहिचानवादी दल र समूहका उम्मेदवारको चुनौती खेपेपनि फराकिलो मतान्तरले विजयी बनेका सुहाङ यो पटक मतान्तर बढाउन सफल बने। यस पटक रास्वपाको लहर चलिरहेपनि इलाम क्षेत्र-२ मा भने श्रम संस्कृति पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ। तर, एमालेको ‘लालकिल्ला’ तोड्न कांग्रेस, रास्वपा र पहिचानवादी दल–समूह यसपटक पनि चुकेका छन्।

अधिवक्तासमेत रहेका सुहाङ उपनिर्वाचनमा विजयी भएपछिका १६ महिनामा प्रतिनिधिसभामा पटक–पटक इलामका समस्या र सम्भावना उजागर गरेकाले मतदातामाझ ‘प्रिय’ मानिन्छन्।

असोज १८ र १९ मा इलाममा ३९ जनाको मृत्यु र १२ अर्ब रुपैयाँको भौतिक क्षति हुनेगरी भएको विपद्मा सुहाङ सबैजसो पालिकाका पीडितका घर–घर पुगेका थिए। पीडितलाई उनले व्यक्तिगत रूपमा राहतसमेत वितरण गरेका थिए।

इलाम क्षेत्र-२ मा एमालेले २०५६ सालयताका सबै निर्वाचनमा झन्डा फहराइरहेको छ। २०४८ सालमा एमालेका सुवासचन्द्र नेम्बाङ पूर्वाञ्चल विकास क्षेत्रबाट निर्वाचित संसद् सदस्य बनेका थिए। ०४८ सालदेखि एउटामात्रै निर्वाचन क्षेत्र रहेको इलाम २०५१ सालदेखि तीन क्षेत्रमा बाँडियो। २०५२ सालमा पनि नेम्बाङ प्रतिनिधिसभाबाट निर्वाचित भए।

२०५६ सालको निर्वाचनमा नेम्बाङ नै यो क्षेत्रबाट विजयी बने। नेम्बाङले त्यो निर्वाचनमा तत्कालीन शिक्षामन्त्री कुलबहादुर (केबी) गुरुङलाई १ हजार ७ सय मतान्तरले पराजित गरेका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनमा नेम्बाङ १७ हजार सात सय ४८ मतसहित विजयी बनेका थिए। कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि नेम्बाङ १४ हजार नौ सय ३० मत ल्याएर विजयी बन्दा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याएका थिए।

तीन निर्वाचन क्षेत्र रहेको इलाममा त्यसपछि २ क्षेत्रको संरचना बन्यो। भूगोल परिवर्तन भयो। देश संघीयतामा गएपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ नै विजयी बने।

नेम्बाङले ३६ हजार पाँच सय १७ मत ल्याए। कांग्रेसका केशव थापाको २६ हजार आठ सय ६५ मत आएको थियो। २०७९ सालको निर्वाचनमा नेम्बाङ ३० हजार २० मतसहित विजयी बन्दा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।  

२०७४ सालको निर्वाचनमा यो क्षेत्रका दुवै प्रदेशसभामा एमाले र ऊ सहितको गठबन्धन विजयी बन्यो। क्षेत्र २ (१) मा रामबहादुर रानामगर र क्षेत्र २ (२)मा गठबन्धनका माओवादी उम्मेदवार धिरेन्द्र शर्मा रमण विजयी बनेका थिए।

२०७९ सालको निर्वाचनमा क्षेत्र २(२)मा एमालेकै रामबहादुर रानामगर तत्कालीन गठबन्धनलाई समेत हराएर विजयी बनेका थिए।

०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र २ का रास्वपा उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत ल्याएका थिए। समानुपातिकमा रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो।

प्रकाशित: २४ फाल्गुन २०८२ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App