नेकपा एमालेले ११औं महाधिवेशनको प्रतिनिधि छनोटसँगै आगामी नेतृत्वबारे जोडघटाउ सुरु भएको छ। केपी शर्मा ओलीको निवास गुन्डु र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको सम्पर्क कार्यालयमा नेताहरूबिच जोड–घटाउ सुरु भएको हो। देशभरबाट छानिएका प्रतिनिधिबारे ओली र पोखरेल पक्षका नेताहरूले हिसाब निकालिरहेका छन्।
खासगरी ओली पक्षका नेताहरू पोखरेल समूहमा देखिन खोजेका र कतै पनि नखुलेका प्रतिनिधिहरूलाई आफ्नो पक्षमा पार्ने कोसिसमा लागेका छन्। महाधिवेशनबाट नेतृत्व चयनमा कतै पनि नखुलेका प्रतिनिधिको मत निर्णायक हुने देखिएको छ।
पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी र प्रदेश अध्यक्षहरू क्रमशः अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल समूहमा खुलिरहेका छन्। प्रतिनिधि छनोटको प्रारम्भिक अवस्थामा केन्द्रको गणितले अध्यक्ष ओलीलाई सहज देखाए पनि पदाधिकारी बाँडफाँटपछिको अवस्थाले सहजता प्रदान नगर्ने आकलन गरिएको छ। ओली समूहका धेरैजसो नेता यसपटक पदाधिकारीका आकांक्षी छन्। त्यसले गर्दा पदाधिकारी आकांक्षी नेताहरूले गुट अदलबदल गर्दा घाटा ओलीलाई हुने देखिएको छ। ‘हामी चकटीमा बस्न तयार छौं। पदाधिकारी चाहिँदैन, साथीहरूलाई अवसर दिने हो। पार्टीको जिम्मेवारी साथीहरूले लिनुभयो भने अन्य मोर्चामा हामी जिम्मेवार लिनेछौं। पार्टीभित्रका असल नेताहरू नेतृत्वमा पुगुन् भन्ने हाम्रो चाहना छ। यसपटको टिम निर्माण यसैगरी हुन्छ,’ पोखरेललाई सहयोग गरिरहेका एक पदाधिकारीले भने।
ओली पक्षले पनि अहिलेको महाधिवेशनार्य सहज रूपमा लिने देखिएको छैन। विगतमा ओफ्नो पक्षमा खम्बाजसरी उभिएकाहरू अहिले पोखरेलको कित्तामा उभिएपछि ओली आत्तिएका हुन्।
ओली पक्षमा भने सबै मिलाएर लैजाने क्रममा विद्रोहको संकेत देखिएको छ। ‘पदाधिकारीमा स्थान नपुगेपछि विद्रोहको संकेत देखिएको छ। यसकै पर्खाइमा छ पोखरेल पक्ष। पदाधिकारी पाइँदैन भने केन्द्रीय सदस्य हुन कति मरिहत्ते गर्नेको संख्या ठुलै छ। खासगरी कोसी र बागमती प्रदेशका नेताहरूमा यस्तो आकांक्षा बढी देखिन्छ,’ ओली समूहका एक नेताले भने।
यद्यपि अहिले नै ओली पक्षमा पहिरो जान्छ भन्नेचाहिँ तथ्यांकले देखाउँदैन। अहिले तीन सय ५४ जनाकाे केन्द्रीय कमिटीमा ओलीको पक्षमा १२ पदाधिकारीसहित दुई सय ९३ सदस्य खुलिसकेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा ६ पदाधिकारीसहित ४३ जना केन्द्रीय सदस्य खुलेका छन्। १२ जना केन्द्रीय सदस्य दुवैतिर सम्पर्कमा भए पनि उनीहरू पोखरेलको पक्षमा लाग्ने सम्भावना देखिएको छ। पोखरेल पक्षको भनाइलाई आधार मान्ने हो भने केन्द्रीय कमिटीमा ठुलो ध्रुवीकरण हुनेछ र प्रतिनीधिहरूबिच पनि ध्रवीकरण हुनेछ।
प्रारम्भिक अनुमानअनुसार अहिले ओलीको पक्षमा ४५ प्रतिशत प्रतिनिधि भूगोलबाट छनोट भएका छन्।
त्यसैगरी पोखरेलका पक्षमा ३३ प्रतिशत प्रतिनिधि छनोट भएको अनुमान छ तर मौन प्रतिनिधि पनि नेतृत्व छनोटका लागि निर्णायक हुने देखिएको छ। भूगोलबाट २२ प्रतिशतभन्दा बढी प्रतिनिधि मौन छन्। उनीहरू बाहिर खुलिसकेका छैनन्। जसका कारण यस पटक नेतृत्वमा तलमाथि हुने सम्भावना छ, पदाधिकारीमा भने नेताहरूले ओली–पोखरेल दुवै समूहलाई मिलाएर मत हाल्ने अवस्था देखिएको छ।
पार्टी केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा वकालत गरेका केही केन्द्रीय सदस्य यसपटक आफ्नो राजनीति बचाउन ओलीको पक्षमा देखिएका छन्। यद्यपि उनीहरूले पोखरेललाई टाढा नराखेको जनाउ पनि दिइ नै रहेका छन्। विद्या सुन्दर शाक्य, थममाया थापा, कृष्ण थापा, नवीना लामालगायत नेता अहिले ओलीतिर खुलेका छन्।
यस्तो अवस्थामा ओली स्वयंले शनिबार एक कार्यक्रममा एमाले अबको राष्ट्रिय शक्ति हुने दाबी गरे। पार्टीभित्र उनको चर्को आलोचना भएको अवस्थामा पनि महाधिवेशनपछि आफैं नेतृत्वमा आउने संकेत गरेर ओलीले पार्टीलाई पहिलो राष्ट्रिय शक्ति बनाउने घोषणा गरे।
ओलीको पक्षबाट वकालत गर्दै आएका महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीति जटिल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै केपी शर्मा ओलीलाई पुनः नेतृत्वमा ल्याउने तयारी भएको बताएर खुलेआम प्रतिनिधिहरूलाई ओलीलाई मत हाल्न अघोषित दबाब दिएका छन्। ‘राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्न सक्ने योग्य नेता केपी शर्मा ओली भएकैले उहाँलाई फेरि पार्टीको नेतृत्व दिन खोजिएको हो,’ उनले भने।
पोखरेल समूहलाई खुलेर समर्थन गरेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ओलीको विकल्पमा एमाले लागिसकेको बताएका छन्। उपाध्यक्ष पाण्डेले ईश्वर पोखरेलले अध्यक्ष पदमा दाबी गर्नु राम्रो कुरा भएको बताउँदै अध्यक्षमा दाबी गर्ने समय ढिला भएको समेत बताए। ‘उहाँ (ईश्वर पोखरेल) लाई मेरो समर्थन छ, पहिले पनि थियो,’ पाण्डेले भने, ‘म त भन्छु– उहाँले दाबी गर्नै ढिलो गर्नुभयो। दुई कार्यकाल महासचिव र वरिष्ठ उपाध्यक्ष भइसकेको मान्छेले अहिले होइन, उहिल्यै म रोलमा उभिसकें, मैले क्षमता देखाइसकें भनेर भन्नुपर्थ्याे।’
पाण्डेले पार्टीभित्र नेतृत्वका लागि जति धेरै दाबी र आकांक्षा आउँछन्, त्यसले लोकतन्त्रको दायरालाई त्यति नै फराकिलो बनाउने तर्क गरेका छन्। ‘स्वाभाविक रूपमा नेता–कार्यकर्ताले नेतृत्वको आकांक्षा राख्दा र दाबी गर्दा पार्टीभित्र डेमोक्रेसीको स्पेस बढ्दै जान्छ,’ उनले भने, ‘कसैले दाबी नै गरेन भने त के हुन्छ ? दाबी गर्नु राम्रो कुरा हो।’
अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको सन्दर्भमा मौन बसेका कैयौं केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्ष बनाउने पक्षमा खुल्दै जाने आकलल गरेका छन् । ‘प्रतिनिधि छनोट सकिएपछि केन्द्रीय कमिटीका लागि आकांक्षीहरू आफ्नो स्वार्थअनुसार खुल्नेछन्, त्यतिबेला मात्र ध्रुवीकरण हुन्छु,’ उनले भने।
ओली समूहमा खुलिरहेका नेता–कार्यकर्ताले ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ नारासहितको पोस्टर बनाएर प्रचार थालिसकेका छन्। पोखरेल समूहले ‘आवेग, प्रतिशोध र अहंकारले बच्दैन देश र पार्टीको अस्तित्व: विवेक, सहकार्य र सामूहिकताका लागि ईश्वर पोखरेलको नेतृत्व’ भन्ने नारा राखी पोस्टर बनाएर प्रचार थालेका छन्।
एमालेले ११औं महाधिवेशनका लागि प्रतिनीधि छनोट भइसकेका छन्। ओखलढुंगा, धनकुटा, अनुशासन आयोग लगायत केही स्थानमा विवाद भए पनि केन्द्रीय विभाग, प्रदेश कमिटी, विशेष जिल्ला र मजदुर फाँटहरू र जनसंगठनहरूमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन्। बहुसंख्यक जिल्लामा भने प्रतिनिधि छनोटका लागि चुनाव भएपछि नेतृत्व छनोटमा चुनाव हुने निश्चित देखिएको छ।
सम्पर्क विशेषसहित आठ प्रदेश, ३२ विभाग, २४ जनसंगठन, एक सय ६५ निर्वाचन क्षेत्र, सल्लाहकार कमिटीसहित चार केन्द्रीय निकाय, चार विशेष जिल्ला कमिटी, सात प्रदेशका मजदुर क्षेत्र, भारत प्रवास, युरोप, एसिया, मध्य क्षेत्र, जिल्ला कमिटी र केन्द्रीय कार्यालयबाट प्रतिनिधि छनोट भएका छन्। धेरै ठाउँमा अध्यक्ष केपी ओली र ईश्वर पोखरेल समूहबिच प्रतिस्पर्धा भएको थियो। मौन रहेका प्रतिनिधिले यसपटक नेतृत्वमा राम्रो उछाल ल्याउने बताइएको छ।
पदेन र मनोनीतबाहेक ६ लाख ७० हजार सदस्यबाट कम्तीमा साढे १६ सय प्रतिनिधि भूगोलको निर्वाचन क्षेत्रसहित विभिन्न स्थानबाट चुनिएर आएका छन्। एमाले केन्द्रीय कार्यालयका अनुसार कुल महाधिवेशन प्रतिनिधि दुई हजार दुई सय हुनेछन्। हजार दुई सय प्रतिनिधि चयन गरिसक्ने तालिका छ। जसअनुसार प्रतिनिधिका लागि केन्द्रीय कमिटी सदस्य तीन सय ५५, केन्द्रीय अनुशासन आयोग २९, लेखा आयोग ३०, निर्वाचन आयोग २५ र सल्लाहकार परिषद्बाट निर्वाचित हुने २५ सिधैं चयन हुनेछन्।
निर्वाचित प्रतिनिधिका रूपमा स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तीमा दुई महिला सदस्यसहित पाँच जनाका दरले निर्वाचित भएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यरत पार्टी सदस्यहरू एक हजार दुई सयसम्म पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा र कम्तीमा एक महिलासहित चार प्रतिनिधि छानिएर आएका छन्।
प्रकाशित: २१ मंसिर २०८२ ०६:२२ आइतबार





