नेकपा एमाले झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले आगामी निर्वाचनमा एमालेको जित राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। बिहीबार दमकमा सञ्चारकर्मीहरूसँग भएको अन्तर्क्रियामा एमाले केन्द्रीय सदस्य समेत रहेका दाहालले राष्ट्रियताको संरक्षण, पूर्वाधार विकास र आर्थिक समृद्धीका लागि एमालेले जित्न जरुरी रहेको उनले बताएका हुन्।
यस्तै, उनले नेकपा एमाले जनताका प्रश्नबाट भाग्ने पार्टी नभएको समेत प्रष्ट पारे। उनले भने, ‘मतदाताले आफ्ना कुरा उम्मेदवार र पार्टीसँग प्रष्टसँग राख्न पाउनु पर्छ र चित्तबुझ्दो जवाफ खोज्नु पनि उहाँहरूको अधिकार हो। त्यसैले हामी जनताका प्रश्नबाट भाग्दैनौँ, हामीलाई र हाम्रा उम्मेदवारलाई जनतासँग छलफल र भलाकुसारी गर्न कुनै समस्या छैन।’
राष्ट्रियताको सवालमा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीले लिएको अडानका कारण पनि देशैभरि एमाले नै जनताको पहिलो रोजाइ रहेको उनले बताए। नाकाबन्दीविरुद्ध निर्वाह गरेको जिम्मेवारी तथा लिपूलेक, कालापानी, लिम्पियाधुरा नेपालका नक्सामा समेट्ने कामबाट राष्ट्रियताको सवालमा एमालेभन्दा बलियो पार्टी र अध्यक्ष ओलीभन्दा अडानको नेता अर्को नभएको नेपाली जनताले बुझेको नेता दाहालले भनाइ राखे।
अहिलेको सरकार विकास विरोधी
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका नेता दाहालले अहिलेको सरकार विकास विरोधी देखिएको बताए। ओली नेतृत्वको सरकारका बेलामा जारी गरिएको बजेटका महत्वपूर्ण योजनाहरू कटौती गरेर, योजना रोक्का गरेर सरकारले विकास विरोधी चरित्र देखाएको उनले जनाए। यस्तै सुकुम्बासीहरूलाई धनीपुर्जा वितरणको काम भइ रहेको समयमा आयोग नै विघटन गरेर सरकार भूमिहीन तथा सुकुम्बासीहरूको विपक्षमा छ भन्ने पुष्टि भएको उनले बताए। अदालतको आदेशबाट आयोग ब्युँतिए पनि सरकारको असहयोगका कारण काम हुन नसकेको नेता दाहालको दाबी छ।
सुकुम्बासी बस्तीमा डोजर चलाउनेले भ्रम छर्दै छन्
काठमाडौंमा सुकुम्बासीका बस्तीमा डोजर चलाउनेहरूले झापामा आएर सुकुम्बासी समस्या समाधान गर्छौँ भनेको कुरा भ्रमपूर्ण रहेको झापाली जनताले बुझिसकेको नेता दाहालको भनाइ थियो। एमाले अध्यक्ष ओली पहिलो चरणको भेटघाट सकेर काठमाडौं फर्किएका छन्। घोषणा पत्रको तयारी सकेर पुनः उनी झापा आउने निर्वाचन प्रचार उपसमितिका संयोजक एवं एमाले केन्द्रीय सदस्य ईन्द्र भण्डारीले जानकारी दिए।
प्रकाशित: २९ माघ २०८२ १८:१६ बिहीबार





