६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले बनायो ‘नेसनल भोलेन्टियर फोर्स’: गम्भीर अपराधका आरोपी श्रेष्ठ तोकिए कमान्डर

एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर अपराधमा संलग्न रहेको आरोप खेपिरहेका व्यक्तिलाई पार्टी संगठनको जिम्मेवारी प्रदान गरेका छन्। ओलीले ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मका मुद्दा र आरोप खेपेका व्यक्तिलाई नेसनल भोलेन्टियर फोर्सको कमान्डर बनाएका हुन्।

ओलीले शुक्रबार सिन्धुलीको कमलामाई नगरपालिका-५ का ४३ वर्षीय पुष्पराज श्रेष्ठलाई नेसनल भोलेन्टियर फोर्सको कमान्डर तोकेका हुन्। यसबाट एमालेभित्र हलचल पैदा भएको छ। खासगरी एमाले नेता महेश बस्नेतको जोडबलमा श्रेष्ठलाई फोर्सको कमाण्डर बनाइएको हो।

श्रेष्ठ वाइसिएलमा हुँदा अपराध मुद्दामा जोडिएका थिए। वाइसिएल माओवादीको भ्रातृ संगठन थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन भई एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किंएका थिए। त्यसैबेलादेखि श्रेष्ठ एमालेसँग जोडिएका हुन्।

श्रेष्ठ तत्कालीन वाइसिएल सिन्धुलीको अध्यक्ष पनि थिए। एमालेमा प्रवेश गरेपछि युवा संघमा काम गरिरहेका श्रेष्ठलाई ओलीले नेसनल भोलेन्टियर फोर्स घोषणासँगै त्यसको कमान्डर तोकेपछि संघकै नेताहरुले आश्चर्य मानेका छन्।

श्रेष्ठले २०६३ देखि २०७५ सालसम्म वाइसिएलमा हुँदा ७ वटा मुद्दा खेपेका थिए। जसमध्ये चार वटा मुद्दा ज्यान मार्ने उद्योगसँग सम्बन्धित थिए। प्रहरीको अभिलेख अनुसार २०६३ सालमा उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो। सिन्धुलीको कमलामाई नगरपालिकाका गगन सिंहलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप श्रेष्ठमाथि थियो।

२०६४ सालमा पनि कमलामाइकै विजय मुनाललाई हतियार प्रहार गरी घाइते बनाएको आरोप श्रेष्ठमाथि छ। २०६५ सालमा पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो। त्यतिबेला उनलाई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरका अविनाश रिजाललाई गोली प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ। २०६७ सालमा सिन्धुलीका राजन घिसिङलाई कुटपटी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यतिबेला उनीविरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा चलाइएको थियो।

२०७० सालमा उनीमाथि अपहरणमा संलग्न रहेको आरोप लागेको थियो। सिन्धुलीकै जीवन श्रेष्ठलाई अपहरण तथा कुटपिट गरेको आरोपमा उनीविरुद्ध सिन्धुली जिल्ला अदालतमा मुद्दा चलाइएको थियो। २०७३ सालमा गणेश कुँवरलाई बन्धक बनाएर रकम लुटेको आरोप पनि उनीमाथि लागेको थियो। कुँवरलाई साथीको डेरामा लगेर बन्धक बनाएको, उनको ५० हजार रुपैयाँ, औंठी, मोबाइल लगेको र साथीका नाममा ११ लाख रुपैयाँको चेक काट्न लगाएको आरोप श्रेष्ठमाथि लागेको थियो।

२०७५ सालमा पनि उनी पक्राउ परेका थिए। २०७५ भदौमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठलाई धाकधम्कीको आरोपमा पक्राउ गरेको थियो। उनले रामबहादुर कट्वाललाई धाकधम्की दिएको आरोप थियो। कट्वाललाई घर निर्माणको जिम्मा दिएको र उनले कामको पैसा माग्दा उल्टै धम्की दिएको आरोप श्रेष्ठमाथि थियो।

२०७५ सालमा माओवादी र एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्यो। नेकपा विघटन भएपछि श्रेष्ठ माओवादीमा फर्किएनन्, एमालेमा आए। एमालेमा आएपछि उनले युवा संघमा जिम्मेवारी पाएका थिए।

ओलीले शुक्रबार नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणा कार्यक्रममा शान्तिको ठाउँमा अराजकताले राज गरेको बताए। ‘अराजकताको अन्त्य गरौं, शान्ति स्थापना गरौं, लोकतन्त्र पुनवर्हाली गरौं, संविधानलाई क्रियाशील बनाएर अगाडि बढौं। त्यसका लागि संगठित ढंगले लोकतन्त्रको, देशको, जनताको र संविधानको पक्षमा यो नेसनल भोलेन्टियर फोर्स बनेको छ’, फोर्स घोषणासभामा ओलीले भने।

उनले अगाडि थपे, ‘यसको नाममा फोर्स राख्दा कतिपयलाई यो के भनेको हो जस्तो लाग्ला। कसैले आर्मी नै भनेर चलाइराखेका छन् तर हामीले त्यस्तो गरेका छैनौं। आर्मी नै भनेर उपद्रव मच्याइराखेका छन्। त्यो पनि हामीले केही भनिराखेका छैनौं। तोडफोड, आगजनी आर्मी भनेर गरिराखेका छन्, कुनैकुनै संगठन हौं भन्नेहरुले आइटी अरे, आर्मी अरे! यो सुहाउने कुरा हुन्छ, मिल्छ यो? आइटी, कम्प्युटर र आर्मी, यो के हो? आइटी आर्मी भनेर तोडफोड गर्ने र अराजकता मच्याउने काम कसैले गरिराखेका छ। हामी त्यसो गर्ने होइन। फोर्स किन भनिएको हो भने अनुशासनका लागि हो। फोर्सभन्दा एउटा अनुशासित संस्था बुझिन्छ। त्यसका लागि अनुशासित ढंगले यो अगाडि बढ्छ।’

प्रकाशित: ६ मंसिर २०८२ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App