२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

‘एमाले-कांग्रेस गठबन्धन तथाकथित’

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले–कांग्रेस गठबन्धनलाई ‘तथाकथित’ को संज्ञा दिँदै मधेस प्रदेशसभाले त्यसलाई भत्काएर अर्थपूर्ण सन्देश दिएको टिप्पणी गरेका छन्।

जनकपुरधामको तिरहुतिया गाछीमा शनिबार आयोजित पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै दाहालले एमाले र नेपाली कांग्रेसको गठबन्धन तोडेर मधेस प्रदेशसभाले ठुलो र अर्थपूर्ण सन्देश दिएको बताएका हुन्।

दाहालले मधेसवादी दल र नेपाली कम्युनिस्ट पार्टीको सहयोगमा मधेस प्रदेशमा कांग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण सम्भव भएको बताए। ‘केही वर्षदेखिको तथाकथित कांग्रेस–एमाले गठबन्धन तोडेर नयाँ समीकरण बनाउने सुरुवात मधेसबाटै भएको छ। नयाँ समीकरण र परिवर्तन अब सबै प्रदेशमा देखिनेछ’, उनले भने।

दाहालले हिमाल, पहाड र तराईका जनताबिचको एकताले मात्र प्रतिक्रियावादीलाई समाप्त गर्न सकिने र यसको नेतृत्वव नेपाली कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने दाबी गरे। देश अप्ठेरो स्थितिमा रहेकाले विभिन्न घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेकाले देशलाई समृद्धितर्फ अगाडि बढाउने यो अभियानमा अन्य कम्युनिस्ट घटक पनि एकताबद्ध हुनुपर्ने बताए। उनले एमालेमा रहेका देशभक्तहरू पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने विश्वास व्यक्त गरे।

दाहालले आफू मधेसी जनताको मतको बलमा प्रधानमन्त्री बनेको स्मरण गर्दै मधेससँग आफ्नो गहिरो सम्बन्ध रहेको बताए। उनले मधेसलाई अन्नको भण्डार भन्दै यो क्षेत्रमा आधुनिक कृषि क्रान्ति आवश्यक रहेको बताए। ‘जबसम्म मधेसमा कृषिको विकास हुँदैन तबसम्म यो क्षेत्र समृद्ध हुन सक्दैन’, उनले भने, ‘बिदेसिएका धेरै मधेसी युवाले दुःख पाइरहेकाले अब उनीहरूलाई घर फर्काउने गरी मधेसमा कृषि क्रान्ति गर्नुपर्छ। जबसम्म बिदेसिएका युवालाई फर्काइँदैन तबसम्म मधेसको कायापलट हुँदैन।’

उनले फास्ट ट्र्याक निर्माणमा आफूले लिएको पहलकै कारण थुप्रै काम भएको र हुलाकी सडकको पनि स्तरोन्नति भइरहेको बताए। मधेसमा सिँचाइको समुचित व्यवस्थाका लागि सुनकोसी–मरिन डाइभर्सनको भौतिक आधार तयार पार्न आफूले लिएको पहल कोसेढुंगा साबित हुने दाबी गरे।

मधेसले नेपालको हरेक क्रान्तिकारी परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले भने, ‘मधेस परिवर्तन र क्रान्तिको चेत हो। मधेसलाई माइनस गरेर देशमा विकास र समृद्धि सम्भव छैन।’

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सन्तोषजनक काम नभएको जेनजी आन्दोलनले प्रमाणित गरिसकेको उनले बताए।

जेनजी आन्दोलनपछि आफूहरूले सच्चिने संकल्पसहित पार्टी एकता गरेको दाहाल स्पष्टोक्ति थियो। अब नेपाली कम्युनिस्ट पाटर्तीकै अगुवाइमा देशमा परिवर्तन र रुपान्तरण हुने दाबी उनले गरे गरे।

सभामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताले पनि नेपाली कम्युनिस्ट पार्टीमाथि विश्वास गरेको दाबी गरे। उनले एसिडपीडित मुस्कान खातुन जस्ता युवा नेपाली कम्युनिस्ट पार्टीमा आएको र अझै थुप्रै जेनजी यो पार्टीमा जोडिने बताए। उनले नेपाली जनतालाई अधिकारसम्पन्न गराउने अभियानमा आफ्नो पार्टी लागेको बताए।

नेपालले मुलुकमा गणतन्त्र स्थापना भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको स्वीकार गरे। जेनजी आन्दोलनले दलहरूलाई आत्मसमीक्षा गरी सुध्रिने अवसर दिएको उनको भनाइ थियो।

नेपालले जेनजी पुस्ताको माग जायज भएको र ती माग पूरा गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको बताए। उनले नेपाललाई समृद्ध बनाउन सबै कम्युनिस्ट घटक नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत हुनुपर्नेमा जोड दिए।

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताका लागि जति गर्नुपर्थ्याे त्यो गर्न नसकेकोमा आत्मालोचना गर्नुपर्ने बताए।

उनले भने, ‘हामीले जति गर्न सक्नुपथ्र्यो त्यति गर्न नसकेकोमा जनताका सामु आत्मालोचना गर्नुपर्छ।’

उनले मधेस, पहाड र हिमाललाई एकताबद्ध गरी अघि बढ्नुपर्ने बताए। ‘हामीले मधेस, पहाड र हिमाललाई एकताबद्ध गराउन सकेनौ, मधेसी जनतालाई अधिकार सम्पन्न र विकसित गर्न सकेनौं भने देशलाई सम्पन्न बनाउन सक्दैनौं,’ उनले भने।

प्रकाशित: २१ मंसिर २०८२ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App