१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

आइसिसी टी ट्वान्टी विश्वकप: रोमाञ्चक भिडन्तको प्रतीक्षामा समर्थक

घरेलु मैदानमा जारी आइसिसी टी ट्वान्टी विश्वकप २०२६ मा भारतीय टोली सुरुदेखि नै दबदबा कायम राख्दै सुपर आठमा पुगिसकेको छ। समूह ‘ए’ को भारतले बुधबार राति नेदरल्यान्डमाथि सहज जितसँगै नकआउट चरणमा स्थान बनाएको हो।

दुईपल्टको च्याम्पियन भारतलाई घरेलु मैदानमा जारी यस विश्वकपमा दाबेदारको रूपमा हेरिएको छ। जसले विश्वकपमा अहिलेसम्म खेलेका चारै खेल जित्दै सुपर आठमा स्थान बनाइसकेको छ। समूहका खेलमा भारतले अत्यन्तै सशक्त प्रदर्शन गर्दै एकपछि अर्को प्रतिस्पर्धीलाई सहजै पराजित गर्‍यो। घरेलु टोलीको आक्रामक ब्याटिङ, कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु विपक्षी टोली टिक्न सकेन। समूहका चार खेलमध्ये सबैभन्दा कडा चुनौती पाकिस्तानबाट आउने अपेक्षा गरिएको थियो, जो एकपल्टको च्याम्पियन पनि हो। पाकिस्तानले सन् २००९ को दोस्रो संस्करणको विश्वकप उपाधि उचालेको थियो। भारत र पाकिस्तानबिचको खेल जहिल्यै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने गर्छ।

बोर्डरको विषय र राजनीतिका कारण यी दुई देश जहिल्यै युद्धको संघारमा देखिन्छन्। यी द्वन्द्वले पनि पाकिस्तान र भारतबिच कुनै पनि शृंखला हुँदैन। विश्वकप र एसिया कप जस्तो मञ्चमा मात्र यी दुईबिचको प्रतिस्पर्धा हेर्न पाइन्छ। त्यसैले क्रिकेट समर्थकका लागि भारत र पाकिस्तानबिचको खेल प्रतीक्षाको विषय बन्छ।

भारत–पाकिस्तान भिडन्त सधैं उच्च दबाब, भावनात्मक माहोल र विश्वभरका समर्थकको ध्यान केन्द्रमा रहने गर्छ तर यसपटक पनि नतिजा भारतकै पक्षमा गयो। पाकिस्तानले पनि अन्य टोलीझैं भारतको विजययात्रालाई रोक्न सकेन। उल्टै एकपक्षीय रूपमा नै खेल भारतले जित्यो।

बुधबार नै अब सुपर ८ चरणको समीकरण पूर्ण रूपमा तय भइसकेको छ। समर्थकहरूका बिच एउटा मुख्य प्रश्न उठिरहेको छ। के भारत र पाकिस्तान यसै विश्वकपमा फेरि एकपटक आमनेसामने हुन सक्छन्? धेरैको चाहना र उत्सुकता यही विषयमा केन्द्रित छ तर विश्वकपको ढाँचाअनुसार, भारत र पाकिस्तान दुवै समूह ‘ए’ मा परेकाले सुपर आठमा उनीहरूबिच खेल सम्भव छैन। सुपर आठमा पुगेपछि टोलीहरूलाई नयाँ दुई समूहमा विभाजन गरिन्छ। त्यहाँ समूहचरणमा सँगै रहेका टोलीहरू पुनः एकअर्कासँग खेल्दैनन्। त्यसैले यो चरणमा भारत र पाकिस्तानबीचको खेल सम्भव छैन। दुवै सेमिफाइनल पुगेमा भने विश्वकपको सबैभन्दा रोमाञ्चक खेल समर्थकले हेर्न पाउनेछन्।

भारत र पाकिस्तान दुवै सुपर आठबाट सेमिफाइनलमा प्रवेश गर्न सफल भए भने मात्र उनीहरूबीच पुनः भेट हुने ढोका खुला रहन्छ। सुपर आठमा प्रत्येक समूहका चार टोलीले आफ्नै समूहका बाँकी तीन टोलीसँग खेल खेल्नेछन्। ती खेलहरूको नतिजाका आधारमा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। समूह एकको शीर्ष टोलीले समूह दुईको दोस्रो स्थानको टोलीसँग सेमिफाइनल खेल्नेछ।

अर्को सेमिफाइनलमा समूह ‘एक’ को दोस्रो स्थानको टोलीले समूह ‘दुई’ को शीर्ष टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यस अर्थमा, भारत र पाकिस्तान सेमिफाइनलमै भेटिनका लागि एउटा टोलीले आफ्नो समूहमा शीर्ष र अर्कोले दोस्रो स्थान प्राप्त गर्नु पर्नेहुन्छ। यदि दुवै टोली आआफ्नो समूहमा शीर्ष स्थानमा रहे वा दुवै दोस्रो स्थानमै सीमित भए भने उनीहरूले सेमिफाइनलमा फरकफरक प्रतिद्वन्द्वीको सामना गर्नेछन्।

सेमिफाइनल खेल जित्न सफल भए भने मात्रै विश्व क्रिकेटले चाहेको त्यो बहुप्रतीक्षित दृश्य पाकिस्तान र भारतबिच फाइनलमा देख्न सकिनेछ। ऐतिहासिक फाइनलको यस्तो समीकरण आएमा त्यो खेल भारतमा हुने छैन। त्यो भिडन्त अर्को आयोजक राष्ट्र श्रीलंकाको कोलम्बोमा त्यो फाइनल खेल आयोजना हुनेछ। दुवै देशका क्रिकेट बोर्डबीच पहिल्यै भएको सहमतिअनुसार पाकिस्तानले भारत यात्रा नगर्ने भएको हो। यस विश्वकपमा यदि भारत र पाकिस्तानको अन्तिम भिडन्त भयो भने त्यो कोलम्बोमा हुनेछ। जसले विश्व क्रिकेट इतिहासको अर्को रोमाञ्चक अध्याय थपिनेछ।

भारतसँगै वेस्ट इन्डिज र इङ्ल्यान्डले पनि समान दुईपल्ट छोटो फरम्याटको विश्वकप उपाधि उचालेका छन्। नेपालको समूह ‘सी’ मा रहेको वेस्ट इन्डिज यसपल्ट अपराजित रहँदै सुपर आठमा पुगेको हो। इङ्ल्यान्डले भने वेस्ट इन्डिजसँग मात्र हार बेहोरेको थियो।  

प्रकाशित: ८ फाल्गुन २०८२ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App