नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्ने कार्यमा एकताबद्ध हुन अपिल गरेका छन्।
संविधान दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै उनले देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै जारी भएको संविधान नेपाली जनता आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा घुसपैठ भई हिंसा मच्चाउँदा युवाको ज्यान गएकामा दुःख व्यक्त गर्दै उनले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको स्पष्ट गरे। 'प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु,' उहाँले भन्नुभएको छ, 'यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईंहरूको सम्झनामा ताजै छन्। नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै संविधान जारी भएको थियो। तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो।'
प्रकाशित: ३ आश्विन २०८२ ११:४७ शुक्रबार




