जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकार, दल र निर्वाचन आयोग मिलेर मुलुकमा निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका छन्। मुलुकमा घटेका पछिल्ला घटनाक्रमले निर्वाचनको वातावरण बनिनसकेको स्पष्ट संकेत गरेको भन्दै बस्नेतले सबै पक्ष गम्भीर भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिएका हुन्।
बस्नेतले भने, ‘सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्था छ। तर नेकपा एमालेले गर्ने सभा, र्यालीहरू जेनजी विद्रोहलाई ललकार्ने र अपराधीकरण गर्न उद्दत देखिन्छ। उता जेनजी युवाहरू पनि नेकपा एमालेलाई बहिष्कार र निषेध गर्ने होडबाजीमा छन्। यस्तो परिस्थितिमा हुने निर्वाचनले मुलुकलाई निकास दिने हैन द्वन्द्वमा धकेल्न सक्छ।’
संक्रमणकालीन अवस्थामा सबैले संयमता अपनाउनुपर्ने बस्नेतले जोड दिएका छन्। उनले भने, ‘सबैखाले अतिवादी सोच र प्रवृत्ति त्यागेर मुलुकलाई वैधानिक बाटोमा अवतरण गराउनु हामी सबै जिम्मेवार बन्नुपर्छ।’
आन्दोलनबाट अपदस्त भएको राजनीतिक शक्ति र आन्दोलनको म्याण्डेट कार्यान्वयन गराउने जेनजी युवा पुस्ताबीच सहकार्य र सहमतिको विन्दु खोजिनुपर्ने उनको धारणा छ।
प्रकाशित: ६ मंसिर २०८२ १०:१९ शनिबार





