नेपाल-चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
भेप चोरी–पैठारीका लागि नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशङ्कामा बिएई ४९२२ नम्बरको स्कार्पियो गाडीसहित गाडीका चालक जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ बस्ने ४१ वर्षीय दीपेश गदाल र गाडीमा सवार जिल्ला सिन्धुपाल्चोक लिसङ्खु पाखर गाउँपालिका–७ बस्ने ३९ वर्षीय रवीन्द्र दर्नाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षण सन्तोष बस्यालले जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय लेते चेक पोष्टमा चेकजाँच गर्ने क्रममा भेप प्रकरणमा संग्लन रहेको आशङ्कामा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।
यसअघि गत शुक्रबार राति ११ बजे चीनबाट चोरी-पैठारी गरी नेपाल भित्र्याएका दुई वटा कन्टेनरमा लोड गरी ल्याएका विद्युतीय चुरोट (भेप) भन्सार छलेर जोमसोमतर्फ आउँदै गरेको अवस्थामा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी र सुरक्षा निकायको संयुक्त टोलीले लोमान्थाङ–४ एक्लेभट्टी भन्ने स्थानमा खानतलासी गरी बरामद गरेको थियो।
ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको मालवाहक कन्टेनरमा लोड गरिएका भेपसहित अन्य सामान बरामद गरिएको थियो।
भन्सार कार्यालयका अनुसार नक्कली कागजपत्र तयार गरी चोरी–पैठारी गरिएका ५९० कार्टुन भेपसहित मोजा, जुत्ता, बेबी कट्टु, खाली कार्टुन, गेम भेस्टलगायत नौ प्रकारका सामान बरामद गरिएको थियो।
प्रहरीका अनुसार चीनबाट चोरी–पैठारी गरी भन्सार छलेर ल्याएका भेपसहित अन्य समानको अनुमानित मूल्य १६ करोड ६५ लाख रहेको छ।
भेप लोड गरिएका अन्य सामानसहित दुई वटा कन्टेनरसहित चालक र एक व्यक्ति गरी तीन जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो।
कन्टेनर चालक धादिङ धुनीबेँसी नगरपालिका– १ बस्ने ४२ वर्षीय सन्तोष लामा, अर्का कन्टेनर चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ बस्ने ४९ वर्षीय फुन्चु दोर्जेसहित निजका साथी सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ बस्ने ५१ वर्षीय पासाङ शेर्पालाई प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।
यता, मुस्ताङ भन्सार कार्यालयले सो घटनामा संग्लन रहेका पाँच जना व्यक्तिविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप भइसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए।
प्रकाशित: ५ जेष्ठ २०८३ २०:१६ मंगलबार





