काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको खर्च दुई करोड रुपैयाँ हुने अनुमान गरिएको छ । आइतबारदेखि सोमबारसम्म सञ्चालित विशेष महाधिवेशन एक दिन थप गर्दा मंगलबारसम्म सञ्चालन हुने भएपछि तीन दिनसम्म चल्ने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।
विशेष महाधिवेशनका व्यवस्थापन समितिका संयोजक अमर सिंह पुनका अनुसार तीन दिनसम्म सञ्चालन महाधिवेशनको खर्च दुई करोड रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।
महाधिवेशनको खर्चमध्ये प्रतिनिधिहरूलाई झोला, खान बस्नलगायत प्रसारप्रचार सामाग्रीहरूको खर्च रहेको उनले बताए । विशेष महाधिवेशनमा ७७ वटै जिल्लाबाट नेता कार्यकर्ता गरेर तीन हजार जनाको सहभागिता रहेको व्यवस्थापन समितिले जनाएको छ । यी प्रतिनिधिहरूलाई बस्न १२ सय कोठा चार दिनलाई बुक गरिएको छ ।
महाधिवेशनमा सहभागी हुन आउने प्रत्येक प्रतिनिधिबाट एक हजार रुपैयाँ शुल्क लिने गरेको बताउँदै संयोजक पुनले बढी शुल्क तिर्न सक्ने प्रतिनिधिबाट पाँच हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म पनि आर्थिक सहयोग दिने गरेको बताए ।
संयोजक पुनले भने, ‘हामीले कसैबाट पनि खर्च माग्नुपरेको छैन । महाधिवेशनमा सहभागि हुन आउने साथीहरूले आफूले जे–जति सहयोग गर्न सक्छन् त्यति नै सहयोग गरिरहेका छन् । हामीले कसैलाई पनि तोकेर यति सहयोग गर्नुपर्छ भनेर भनेका छैनौं ।’
महाधिवेशन सञ्चालन गर्न व्यवस्थापन समितिले दुई दिनसम्मको खर्चको व्यवस्थापन गरेको भए पनि थप एक दिन लम्बिने भएपछि खर्च बढ्ने व्यवस्थापन समितिले जनाएको छ ।
‘हामीले दुई दिनसम्म प्रतिनिधिहरूलाई खान बस्ने व्यवस्थापन गरेका थियौँ। एक दिन महाधिवेशन थपिने भयो । त्यसैले खर्च बढ्ने भएपछि हामीले केही प्रतिनिधिलाई आर्थिक सहयोगका लागि अनुरोध गरेका छौं’, संयोजक पुनले भने ।
महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिलाई एक हजार देखि १२ सय रुपैयाँसम्मको कोठाको व्यवस्थापन गरिएको छ । दुई दिनसम्म सञ्चालन महाधिवेशनमा खानाको खर्च ५५ लाख रुपैयाँ र कोठा व्यवस्थापनमा ५० लाख रुपैयाँ प्रचारप्रसार सामग्रीलगायत व्यवस्थापन खर्च डेढ करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको संयोजक पुन बताउँछन् । एक दिन महाधिवेशन थप हुने भएपछि खान र बस्न गरेर दुई करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको संयोजक पुनको भनाइ छ ।
महाधिवेशनमा सहभागि प्रतिनिधिहरूलाई बिहान र साँझ महाधिवेशन स्थलमै भण्डारलगाएर खानाको व्यवस्थापन गरिएको व्यवस्थापन समितिले जनाएको छ । महाधिवेशनमा सहभागि प्रतिनिधिसमेत आयोजक र व्यवस्थापनप्रति सन्तुष्टि नै रहेका छन् । बाराका प्रतिनिधि प्रमोद यादवका अनुसार महाधिवेशन आयोजकले प्रतिनिधिलाई खान र बस्न राम्रो व्यवस्थापन भएको बताउँछन् । प्रत्येक प्रतिनिधिबाट एक हजार रुपैयाँ शुल्क लिएको भए पनि आयोजकले प्रतिनिधिहरूलाई राम्रो व्यवस्थापन गरेको उनले बताए ।
प्रतिनिधीहरूबाट एक हजार रुपैयाँ शुल्कबाहेक अन्य कुनै पनि शुल्क नलिएको उनको भनाइ छ ।
सिन्धुलीका प्रतिनिधि कप्रेन्द लामाका अनुसार पहिला–पहिला प्रतिनिधिहरूबाट तीन हजार रुपैयाँसम्म लिने गरेको भए पनि यसपालि प्रतिनिधिहरूबाट एक हजार रुपैयाँ मात्र लिइएको छ ।
उनले एक हजार रुपैयाँ तिर्दा पनि व्यवस्थापन समितिले खान र बस्न राम्रो व्यवस्थापन गरेको बताए । अहिले प्रतिनिधि शुल्क घटेकाले गर्दा प्रतिनिधिहरूलाई धेरै नै सहज भएको पुनको भनाइ छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई बिहान खाजाको समयमा पुरी र तरकारीको व्यवस्थापन गरिएको भए पनि दिउँसो खाजाको व्यवस्था छैन ।
खानाको हकमा भने बिहान र साँझ कहिले सादा खाना र कहिले चिकेन खाना खुवाउने गरिएको समितिले जनाएको छ ।
प्रकाशित: २८ पुस २०८२ १९:३१ सोमबार




