नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले देशलाई भ्रष्टाचारको आहालबाट बाहिर निकाल्ने दाबी गरेका छन्।
सभापती भएपछि शुक्रबार पहिलोपटक पोखरा आएका उनले कांग्रेस कास्कीको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘हिजो हिंसाबाट बाहिर निकालेको नेपाली कांग्रेसले भ्रष्टाचारको आहालबाट पनि देशलाई निकाल्छ।’
उनले आज नेपाली जनता भ्रष्टाचारका कारण पुराना पार्टीसँग रिसाएको बताए। सोहि कारण युवाहरु देशमा नबसी विदेश पलायन भएको तथा स्वदेशमा लगानी गर्न लगानीकर्ता डराएको उनको भनाई थियो। कांग्रेसले चुनाव जित्यो भने नेपालमा भ्रष्टाचार घट्छ र नेपाल अगाडि बढ्छ भन्ने सन्देश लिएर जनतामाझ जान आग्रह गर्दै उनले थपे, ‘आजको दिनमा भ्रष्टाचार यो देशको सबैभन्दा ठूलो मुद्दा हो। भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो बदलिएको योद्धा कांग्रेस हो।’
सभापती थापाले देशलाई सम्हाल्ने र बदल्ने पार्टी कांग्रेस मात्र भएको बताए। जनता पुराना पार्टीहरुसँग अहिले रिसाएको बताउँदै उनले ती रिसाएका जनतालाई सम्हाल्ने र देशलाई बदल्ने शक्ति अहिले देशले खोजिरहेको बताए।
‘जनतामा रिस छ र आक्रोश छ,’ उनले भने, ‘त्यसैले देशलाई मिलाउने शक्ति चाहिएको छ। त्यो शक्ति भनेको नेपाली कांग्रेस हो। किनकी हिजो संविधान निर्माण गर्ने क्रममा पनि सबै जातजाति, समुदायलाई मिलाएर लैजाने शक्ति कांग्रेस नै हो। आज पनि कांग्रेस संकल्प गरेर आएको पार्टी हो। जसले देश सम्हाल्छ पनि र व्यवस्थालाई बदल्न पनि सक्छ।’
आफ्नो पार्टीले बहुमत ल्यायो र आफू प्रधानमन्त्री बनिहाले पनि भर्खरै जादूको छडी जस्तो बदल्ने अवस्था भने नरहने उनले स्पष्ट पारे। तर बिस्तारै सम्हाल्न सकिने भन्दै उनले थपे, ‘बदल्नका लागि नेता ठिक हुनुपर्छ। नेताको नियत ठिक भयो भने देश सुध्रिन्छ। नियत ठीक भएकाले नीति राम्रो बनाउँछ र ठीक नीति भयो भने र त्यसलाई कार्यान्वयन गर्ने संकल्प गरियो भने त्यसको परिणाम राम्रो निस्कन्छ।’
सभापती थापाले अर्को भदौ २४ मा गत भदौ २४ मा जस्तो देश जल्दैन भन्ने जिम्मा कांग्रेसले लिने बताए। ‘आगो जसले पनि लगाउन सक्छ। तर निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ। उत्तेजना जसले पनि फैलाउन सक्छ तर चेतना फैलाउने शक्ति चाहिएको छ,’ उनले भने, ‘हामी मिलाउँछौं, हामी सम्हाल्छौं। त्यो सम्हाल्ने नेपाली कांग्रेसले हो।’
उनले आगामी भदौ २४ मा गत भदौ २४ मा जस्तो देश दनदनी जल्दैन भन्ने जिम्मा कांग्रेसले लिने उनको भनाई थियो। उनले भने, ‘हिंसाको बदलाभाव कांग्रेसमा नरहेको स्पष्ट पारे। हामी अचाक्ली (एक्स्ट्रीम)मा जान सक्दैनौं। घृणाको राजनीति गर्नै सक्दैनौं। बदलाको राजनीति गर्नै सक्दैनौं, हाम्रो त्यो क्यारेक्टर हो, हाम्रो क्यारेक्टर नै मिलाउने हो ।’ उनले हिमाल, पहाडदेखि तराईसम्म तथा सबै जातजाति, भाषा र धर्मलाई मिलाउन सक्ने शक्ति कांग्रेस भएको उनले बताए।
‘प्रश्न सोध्नुस् हामी सुन्न तयार छौं, समस्या भन्नुहोस् समाधान दिन तयार छौं,’ उनले भने,‘हामी समस्याबाट भाग्दैनौं, बरु समस्यालाई समाधान दिन्छौं। पुरानो पुस्ता र नयाँ पुस्तालाई मिलाउँछौं। हिमाल, पहाड र तराईसँगै देशभित्र र बाहिरकालाई पनि मिलाउँछौं।’ उनले सबैलाई मिलाउँदै देशवासीलाई एकताबद्ध बनाएर विश्वास र भरोसा योग्य बनाउने दाबी गरे। ‘अहिले सम्हाल्ने शक्ति मात्रै खोजेको छैन नेपाली जनताले,’ उनले अगाडि थपे, ‘जनताले अहिले खोजेको भनेको सम्हालोस् पनि र र सुधारोस् पनि र बदलोस।’
प्रकाशित: २३ माघ २०८२ १६:४३ शुक्रबार





