९ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

तोसिमाको रिफर्म ‘ब्लुप्रिन्ट’ : २०८२ मंसिरमै महाधिवेशन, विचार मिल्नेसँग एकता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले ‘रिफर्मेसन मार्गचित्र’ पेश गर्दै पार्टीको वैचारिक–संगठनात्मक क्रान्तिको खाका प्रस्तुत गरेकी छन्।  

चितवनमा दुई दिन चलेको विस्तारित बैठकमा उनले महाधिवेशनलाई ‘पार्टीको अक्सिजन’ बताउँदै २०८२ मंसिरमै महाधिवेशन गर्नुपर्ने, विद्यमान पदाधिकारी र सचिवालय भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव राखेकी छन्। जेन-जी, वैकल्पिक शक्ति र बौद्धिक वर्गलाई समेटेर नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने समावेशी संरचना बनाउनुपर्ने उनको जोड छ।  

घण्टी चिह्न साझा राखी विचार मिल्ने सबै दलसँग एकता गर्न उच्चतम उदारता देखाउनुपर्ने तथा वाम-दक्षिण ध्रुवीकरण तोड्दै ‘लोककल्याणकारी मध्यमार्गी’ राजनीतिको नयाँ ध्रुवीकरणको नेतृत्व रास्वपाले लिनुपर्ने कार्कीले बताएकी छन्।  

‘यो बैठक कर्मकाण्डी नबनी वैचारिक-संगठनिक रिफर्मको मोडालिटी तय गर्ने थलो बन्नुपर्छ,’ उनले थपेकी छन्। मार्गचित्र कार्यान्वयनले रास्वपालाई नागरिककेन्द्रित, सुसंस्कृत र जनउत्तरदायी शक्तिका रूपमा स्थापित गर्ने उनको विश्वास छ।

यस्तो छ उनको मार्गचित्र
श्री केन्द्रीय समिति विस्तारित बैठकमा राखिएको रिफर्मेसन मार्गचित्र 
-----------

रिफर्मेसनका लागि निम्नानुसारको मार्गचित्र पेस गरिएको छ :- 
(१) महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ । महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ ऊर्जा थप्ने हुनाले आगामी चुनावमा पार्टीको विजयका लागि ढोका खोल्दछ । 

(२) म स्मरण गराउन चाहन्छु, १ वर्ष अघि भएको राष्ट्रिय भेलाबाट पार्टी सभापति मार्फत अहिलेको विद्यमान केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिको रूपमा घोषणा भएको थियो।महाअधिवेशन आयोजक समिति घोषणा पछि पनि केन्द्रीय सचिवालय र पदाधिकारी रहिरहनु र सचिवालय विस्तार समेत गरिनुको आधार स्पष्ट नभएको मेरो बुझाई छ। महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ । महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू एवं बौद्धिक वर्गलाई पनि समावेश गर्नु पर्दछ । पार्टीको हालको कार्यकारी नेतृत्व समूह/ सचिवालय समावेशी हुन नसकेको भनी जुन आलोचना भइरहेको छ, त्यसबाट पाठ सिकी महाधिवेशन आयोजक समिति र महाधिवेशनबाट गठन हुने केन्द्रीय समिति, सचिवालय तथा पदाधिकारीको संरचना नेपालको विविधतालाई वास्तविक प्रतिनिधित्व गर्ने गरी समावेशी बनाउनु पर्दछ । 

(३) विचार मिल्न सक्ने विभिन्न राजनीतिक पार्टीहरूसँग घण्टी चुनाव चिह्न साझा रहने गरी एकता गर्नु पर्दछ । यस क्रममा रास्वपाले उच्चतम उदार चरित्र देखाउँदै ठुला वा साना, दुवै खालका पार्टीहरूलाई एकता प्रक्रियामा स्वागत गर्नु पर्दछ ।

(४) वैचारिक र सैद्धान्तिक रिफर्म
रास्वपाले अब राष्ट्र निर्माणको वैचारिक नेतृत्व गर्नुपर्छ । नेपालको हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण नै प्रबल रहेको देखिन्छ । तीमध्ये पनि कम्युनिज्म, समाजवाद, सोसल डेमोक्रेसी आदिको नारा  भजाई गैर चरित्रबाट देशलाई ब्रम्हलुट भइरहेको यथार्थ रहेको सन्दर्भमा देशको आर्थिक समुन्नति, स्वास्थ्य,शिक्षा,रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेन्डा स्थापित हुन सकेको छैन । देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्नका लागि रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ धुर्विकरणको नेतृत्वको लागी अघि बढ्नु पर्दछ । 

देशभरिबाट रास्वपाका विभिन्न तह र तप्काबाट सहभागी हुनुभएको पूर्व मेची देखि पश्चिम महाकाली सम्मबाट र देशको दुर्गम अति दुर्गम भूगोलदेखि समय, अर्थ र आशाको लगानी गर्न उपस्थित हुनुभएको यो विस्तारित बैठक केवल राय सुझाव सल्लाह लिनेमा मात्र सीमित गराई कर्मकाण्डी जस्तो नबनाई सङगठानका जिम्मेवार साथीहरूको अर्थपूर्ण सहभागिता साथै निर्णयमाथिको अधिकार सुनिश्चित गर्दै यो बैठकले स्पष्ट रूपमा वैचारिक र साङ्गठनिक रिफर्मेसनको मोडालिटी तय गर्न सक्नुपर्छ भन्ने मेरो ठम्याई हो। 

पार्टीका सङ्गठनका जिम्मेवार साथीहरूबाट विभिन्न समयमा आएको राय,सुझावलाई समेत समेटेर तयार गरिएको यस मार्गचित्रको कार्यान्वयनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक, संगठनात्मक र नीतिगत दृष्टिले सुदृढ र नागरिक केन्द्रित दलमा स्थापित गर्दै आजको समय परिस्थितिले खोजिरहेको थप अब्बल, सबल, सुसंस्कृत, समावेशी, जिम्मेवार र जनउत्तरदायी राजनैतिक शक्तिको रूपमा रुपान्तरण गर्नेछ भन्ने विश्वास सहित यो प्रस्ताव यस विस्तारित बैठकमा पेस गर्दछु । 

डा. तोसिमा कार्की
केन्द्रीय सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाशित: २३ कार्तिक २०८२ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App