नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसोदेखि नेता तथा कार्यकर्ताको बाक्लो आउजाउ देखिएको छ।
केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन नेताहरू कार्यालय पुग्ने क्रम जारी रहे पनि निर्धारित समयमा भने बैठक सुरु हुन सकेको छैन।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजिसक्दा पनि अन्योलमै छ। यद्यपि, सानेपा परिसरमा नेताहरूको उपस्थिति भने बाक्लिएको छ।
बैठकका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, शशांक कोइराला र विजय गच्छदार लगायतका प्रभावशाली नेताहरू सानेपा पुगिसकेका छन्।
नेताहरू कार्यालयमा उपस्थित भए पनि औपचारिक रूपमा बैठकको कारबाही अघि बढ्न सकेको छैन।
एकातर्फ भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजक समितिले निर्वाचन तालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको छ भने अर्कोतर्फ नेताहरू सहमति जुटाउन वार्तामा पनि सक्रिय छन्।
तस्बिरहरु : दिपेश दर्शनधारी/नागरिक











प्रकाशित: २९ पुस २०८२ १५:३३ मंगलबार





