नेपाली कांग्रेसका नेताहरूले पार्टीमा नयाँलाई अवसर प्रदान गर्ने भन्दै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणा गर्न थालेका छन् । प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेस केन्द्रीय समितिले गरेको परिपत्रअनुसार तल्ला निकायले आकांक्षी र सम्भावित उम्मेदवारको नाम छनोट र सिफारिस गरिरहेका छन् ।
फागुनमा निर्वाचन हुनेमा विभिन्न आशंका भइरहेकै बेला कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । शर्मा र अर्का महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर फागुन २१ लाई तोकिएको निर्वाचन वैशाखमा सार्न प्रस्ताव गरेको चर्चा भइरहेका बेला कांग्रेसका तीन पूर्वमन्त्रीले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पूर्वमन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री राजन केसी र धादिङ कांग्रेसका सभापतिसमेत रहेका पूर्वमन्त्री रामनाथ अधिकारीले राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
युवा पुस्ताको भावनाअनुसार निर्वाचनमा नयाँलाई अवसर दिने र पार्टी राजनीतिमा भने सक्रिय भइरहने उनीहरूले बताएका छन् । जेनजी आन्दोलनको बलमा विस्थापित केपी ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री रहेका पाण्डे विघटित प्रतिनिधिसभामा बाजुराबाट निर्वाचित भएका थिए । युवाको मागलाई समयमै र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै पाण्डेले भने, ‘त्यसमा मेरो प्रत्यक्ष भूमिका नरहे पनि तत्कालीन मन्त्रिपरिषद्को सदस्यका नाताले जेनजी घटनाको नैतिक जिम्मेवारी लिँदै आगामी निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिन उचित ठानेको छु ।’
आफ्नो यो निर्णयले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउन, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउन, योग्य र निर्वाचनमा सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन सहयोग गर्ने पाण्डेले बताएका छन् । मन्त्रीका रुपमा सरकारमा रहँदा नीतितगत स्थिरता, पारदर्शिता, रचनात्मक, निजी क्षेत्रको सहभातिता जस्ता कार्य सुरु गरेको दाबी उनले गरेका छन् ।
त्यस्तै ओली नेतृत्वको पूर्ववर्ती सरकारमा कृषिमन्त्री र धादिङ कांग्रेसका सभापतिसमेत रहेका अधिकारीले पनि उम्मेदवार नबन्ने घोषणा गरेका छन् । भदौ २३ गतेको हिंसापछि मन्त्री पदबाट राजीनामा दिएका अधिकारी धादिङ–२ बाट प्रतिनिधिसभातर्फ चार पटक उम्मेदवार बनेकोमा दुई पटक निर्वाचित भएका थिए । नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको विषय पार्टीभित्र र बाहिर पनि उठिरहेको अवस्थामा अरु साथीहरूलाई अवसर दिनका लागि आफू आगामी चुनावमा उम्मेदवार नबन्ने निष्कर्षमा पुगेको उनले बताए । उनले भने, ‘पार्टी राजनीतिमा भने सक्रिय रहन्छु । त्यसैमार्फत जनताको सेवामा रहन्छु ।’
त्यस्तै काठमाडौं–१० बाट निरन्तर तीन पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य केसीले पनि उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजित केसी २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेसँगै चर्चामा आएका थिए । त्यसपछिका सबै चुनाव जित्दै आएका केसीले भने, ‘एउटै व्यक्ति लामो समयसम्म एउटै पदमा बसिरहँदा नयाँ पुस्ताले अवसर नपाउने र पार्टी क्षमतामा पनि ह्रास आउँछ । त्यसैले आगामी निर्वाचनमा नयाँ पुस्ताका लागि बाटो छोडिदिने निष्कर्षमा पुगेको हुँ ।’
कांग्रेस केन्द्रीय समितिको मंसिर १५ गते सम्पन्न बैठकले पार्टीका तल्लो निकायलाई प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो । केन्द्रको निर्णयअनुसार तल्लो तहका कार्यसमितिहरूलाई मंसिर २३ गतेसम्म जिल्लामा र जिल्लाले २५ गतेसम्म रायसहित प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिइएको छ ।
कांग्रेसले विधानको दफा ३०, ३३ (२) तथा ६९ अनुसार योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फ बढीमा एक महिलासहित तीन र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न मातहतका निकायलाई निर्देश गरेको छ । १० बुँदे मापदण्डसहित कांग्रेसले तल्लो तहलाई उम्मेदवार सिफारिस गर्न परिपत्र गरेको थियो । सोहीअनुसार कांग्रेसका क्षेत्रीय तथा जिल्ला समितिहरूले नाम सिफारिस गर्नेक्रमलाई तीव्र बनाएका छन् ।
प्रकाशित: २६ मंसिर २०८२ १८:४४ शुक्रबार





