वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्युठान नगरपालिका-९ घर भई हाल दाङको राप्ती गाउँपालिका-१ बस्ने ३९ वर्षीय इन्द्रबहादुर केसी, धादिङको थाक्रे गाउँपालिका-५ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय विजय गुरुङ रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये इन्द्र र आइतेले मिलेर ७ जनालाई युके पठाइदिने भन्दै १३ लाख रुपैयाँ ठगी गरेका थिए।
त्यस्तै, विजय गुरुङले एक जनाबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले इन्द्र र आइतेलाई बिहीबार काठमाडौंको गोंगबुबाट र विजयलाई आइतबार काठमाडौं महानगरपालिका-१४ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।
इन्द्र र आइतेलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने विजयलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ पुस २०८२ १६:०० सोमबार





