जेन-जी विद्रोहपछि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ उम्मेदवार ५० हजार बढी मत ल्याएर निर्वाचित भएका छन्। यसरी निर्वाचित हुने सबै उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का छन्। जेनजी विद्रोहको ६ महिनापछि यही फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भएको हो।
रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन्द्र शाह सबैभन्दा बढी मतसहित निर्वाचित भएका छन्। झापा–५ बाट उम्मेदवार बनेका उनी ६८ हजार ३४८ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका केपी शर्मा ओली थिए। ओलीले १८ हजार ७३४ मत पाएका छन्।
सबैभन्दा बढी मत ल्याएर विजयी हुने दोस्रोमा इन्दिरा रानामगर छन्। उनी पूर्वउपसभामुखसमेत हुन्। झापा–२ बाट उम्मेदवार बनेकी उनका निकटतम प्रतिस्पर्धी पूर्वसभामुख देवराज घिमिरे थिए। दुवैजना जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभामा सभामुख र उपसभामुख थिए। रानामगर ६० हजार ११० मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका घिमिरेले ११ हजार ३६८ मत पाएका छन्।
त्यस्तै सोविता गौतम सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा तेस्रो नम्बरमा छन्। उनी चितवन–३ बाट उम्मेदवार बनेकी थिइन्। गौतम ५९ हजार २७७ मतसहित निर्वाचित भएकी हुन्। गौतमकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहाल थिइन्। भरतपुर महानगरपालिकामा दुई कार्यकाल मेयरसमेतर रहकी उनले २० हजार ६१५ मत पाएकी छन्।
यसैगरी सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने चौथोमा डा. लेखजंग थापा छन्। रूपन्देही–३ बाट उम्मेदवार बनेका थापा ५८ हजार ८१४ मतहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशीलजंग गुरुङ थिए । उनले आठ हजार ४३५ मत पाएका छन्।
चितवन–१ बाट उम्मेदवार बनेका हरि ढकाल सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा पाँचौं नम्बरमा छन्। उनी ५८ हजार २०८ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी १३ हजार ३३ मतमा रोकिएका हुन्।
सुनसरी–२ बाट उम्मेदवार बनेका लालविक्रम थापाले ५७ हजार ३४८ मतसहित निर्वाचित भएका छन्। उनी सबैभन्दा बढी मत ल्याउनेमा छैटौं नम्बरमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइराला थिए । उनले १६ हजार ७१ मत पाएका छन्।
त्यस्तै सबैभन्दा बढी मत ल्याएर विजयी हुने सातौं नम्बरमा सुलभ खरेल छन्। उनी रूपन्देही–२ बाट उम्मेदवार थिए। उनी ५६ हजार ५५० मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद पौडेल थिए। एमाले उपाध्यक्षसमेत रहेका उनले १२ हजार ८६१ मत पाएका छन्।
रुविना आचार्य सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा आठौं नम्बरमा छन् । उनी मोरङ–६ बाट उम्मेदवार बनेकी थिइन्। उनी ५५ हजार ५१३ मतसहित निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला थिए। कोइरालाले १२ हजार ८५० मत पाएका छन्।
सुनिल लम्साल ५४ हजार ८४५ मतसहित निर्वाचित भएका छन्। उनी सबैभन्दा बढी मत ल्याउनेमा नवौं नम्बरमा छन्। लम्साल रूपन्देही–१ बाट उम्मेदवार बनेका थिए। लम्सालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हीराबहादुर खत्री ११ हजार ९८२ मा रोकिए।
रास्वपाका सभापति रवि लामिछाने सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा दसौं नम्बरमा छन्। चितवन–२ बाट उम्मेदवार बनेका लामिछाने ५४ हजार ४०२ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीनाकुमारी खरेल थिइन्। उनले १४ हजार ५६४ मत पाइन्।
पचास हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुनेमा बदनकुमार भण्डारी पनि छन्। काभ्रेपलाञ्चोक–२ बाट उम्मेदवार बनेका उनी ५३ हजार ३४४ मतसहित निर्वाचित भएका हुन्। सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा उनी एघारौं नम्बरमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्य थिए। उनले १७ हजार ८६८ मत पाएका छन्।
त्यस्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ बाट उम्मेदवार बनेका राजन गौतम ५० हजार ९४५ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरे थिए। उनले १६ हजार २९३ मत पाएका छन्।
प्रकाशित: २७ फाल्गुन २०८२ ०९:५८ बुधबार





