नेपाली कांग्रेसका सभापति गगन थापाले सशस्त्र द्वन्द्वकालमा नागरिकको ज्यान लिने शक्ति नै आज सत्ता र शक्तिको आडमा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कर्णालीले भोगेको हिंसा र पीडालाई स्मरण गर्दै तत्कालीन माओवादी नेतृत्वप्रति आक्रोश पोखे।
उनले भने, ‘हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहँदा, आज तिनै मान्छेहरू नक्कली शरणार्थीको कागज बनाएर विदेश पठाउने धन्दामा मस्ती गरिरहेका छन्। यो कुरा कर्णालीले बिर्सनु हुँदैन।’
सभापति थापाले भदौ २३ गतेको गोली काण्ड र २४ गतेको आगजनी दुवै घटना अतिवादी सोचको उपज भएको बताए। उनले राज्यको गोलीबाट समस्याको समाधान नहुने र रिसको आवेगमा जलाइएका संरचनाले पनि निकास नदिने स्पष्ट पारे।
‘एउटा प्रवृत्ति छ जसले गोली चलाएर शान्ति आउँछ भन्छ, अर्को प्रवृत्ति छ जसले पेट्रोल छर्केर आगो लगाउँदा आफ्नो रोटी सेक्छ,’ थापाले भने, ‘यी दुवै सोच अतिवादी हुन्। कांग्रेस यो दुवै सोचसँग सहमत छैन।’
थापाले २०७४ सालपछिको राजनीतिक अस्थिरता र सरकार बनाउने-भत्काउने खेलले देशले गति लिन नसकेको स्वीकार गरे। उनले अब बन्ने सरकारले ५ वर्षको स्पष्ट क्यालेन्डर बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘हामीले ५ वर्षको समय मागेका छौँ। फागुनमा चुनाव हुन्छ, चैतमा नतिजा आउँछ र वैशाख १ गते नयाँ सरकार बन्छ,’ थापाले भने, ‘त्यसपछि हरेक वर्ष जेठ १ गते सरकारले के गर्यो भनेर जनतालाई हिसाब बुझाउँछौँ। अब कांग्रेस सुस्ताउँदैन।’
युवा पुस्ता र सामाजिक सञ्जालमा पोखिएको आक्रोशलाई आफूले सम्मान गर्ने बताउँदै थापाले देशमा केही नभएको भन्दै निराश नहुन आग्रह गरे। उनले स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्ने संकल्प लिए।
‘अस्पतालमा उपचार गर्दा खल्तीबाट पैसा तिर्न नपरोस्, पढ्ने विद्यार्थीले बिल तिर्न नपरोस् र रोजगारीका लागि विदेश जान नपरोस् भन्ने हाम्रो सपना हो,’ उनले भने, ‘यो पूरा गर्न हामीसँग योजना र संकल्प दुवै छ।’
उनले एमाले, माओवादी र रास्वपासहित सबै दललाई गालीगलौज छोडेर देश विकासको साझा एजेन्डामा एक ठाउँमा उभिन समेत आह्वान गरे।
प्रकाशित: १४ फाल्गुन २०८२ १५:३० बिहीबार





-600x400.jpg)