१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

पूर्वराजा ज्ञानेन्द्र लक्षित दाहाल- फ्याँकिएका तत्त्वहरू निर्वाचन रोक्ने चलखेल गर्दैछन्

फाइल तस्बिर।

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई लिएर भ्रम फैलाउने र रोक्ने प्रयास भइरहेको बताएका छन्।

शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले जनताले इतिहासको रद्दी टोकरीमा फ्याँकिसकेका व्यक्तिले निर्वाचनको औचित्यमाथि प्रश्न उठाउनु विचित्रको कुरा भएको टिप्पणी गरे।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा एक भिडियो सन्देशमार्फत राष्ट्रिय सहमति बिना गरिने निर्वाचनको कुनै अर्थ नहुने भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै दाहालले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले पूर्वराजाको नाम नलिई इतिहासले फ्याँकिएका मान्छे भन्दै उनको दाउपेच सफल नहुने बताए। कार्यक्रममा बोल्दै दाहालले भने, ‘अझै पनि केही मान्छेहरू निर्वाचन हुँदैन भन्न छाडेका छैनन्। मलाई यो बडो विचित्रको कुरा लाग्छ। हिजो संविधानसभाको दोस्रो निर्वाचनको बेला पनि एकथरीले निर्वाचन हुँदैन भन्थे, अहिले इतिहासले फ्याँकिसकेका केही मान्छेहरूले चुनाव हुन नदिने चलखेल गरिरहेका छन्।’

उनले पार्टी हेडक्वार्टर र केन्द्रको तर्फबाट यस्ता हल्लाको पछि नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई अपिल गरे।

निर्वाचनको बाँकी अवधिलाई सदुपयोग गर्न आग्रह गर्दै उनले थपे, ‘हामीले सुरुदेखि नै निर्वाचनलाई जनतामा जाने सबैभन्दा सहज विकल्पको रूपमा लिएका थियौं। अब बाँकी रहेका १२ दिन हामी युद्धस्तरमा खट्ने हो भने हाम्रो पार्टी देशको नम्बर एक शक्ति बन्ने निश्चित छ।’

उनले केही समय राजनीतिक हावाहुरी चलेको देखिए पनि अहिले त्यो थामिसकेको र जनताले देशलाई नेतृत्व दिन सक्ने एक मात्र शक्ति नेपाल कम्युनिष्ट पार्टी नै हो भन्ने बुझिसकेको दाबी गरे।

देशभक्त, वामपन्थी र क्रान्तिकारीहरूलाई एकताबद्ध गर्दै पार्टीको विजय यात्रा अघि बढिसकेको उनको भनाइ थियो। संयोजक दाहालले निर्वाचन विरोधी कुनै पनि हर्कत वा दुष्प्रचारले वर्तमान राजनीतिक प्रक्रियालाई रोक्न नसक्ने समेत प्रष्ट पारेका छन्।

प्रकाशित: ९ फाल्गुन २०८२ १५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App