नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले एमालेको महाधिवेशनपछि त्यहाँ उकुसमुकुस भएकाहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्।
एकता सन्देश सभाका क्रममा ताप्लेजुङमा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्न फुङलिङ आइपुगेका गजुरेलले बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त दाबी गरेका हुन्। वार्ता समितिले पहिले पनि छलफल गरिसकेको र एमाले महाधिवेशनपछि उक्त पार्टीमा उकुसमुकुस भएकाहरूसँग फेरि छलफल गरी उनीहरूलाई एकताको प्रकृयामा ल्याउने उनको दाबी थियो।
गजुरेलले एमाले महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीइतर समूह निर्वाचित हुँदा बृहत्त कम्युनिष्ट पार्टी एकताको आधार तयार हुने बताए। अहिलेको परिवर्तनको रक्षा समाजवादी क्रान्तिबाट मात्र सम्भव हुने निष्कर्षका साथ समान विचार भएका शक्तिहरू एकता र ध्रुवीकरणको प्रकृयामा आएको उनको भनाइ थियो। ‘आशंका गर्ने ठाउँ भए पनि चुनाव जित्नकै लागि एकता भएको होइन, मानव जातिको अस्थित्वको रक्षा पुँजीवादले नगर्ने निष्कर्षका साथ समाजवादी क्रान्तिलाई विकल्प देख्ने शक्ति एक भएका हौं,’ उनले भने।
अहिलेको एकता फरक सन्दर्भ र उद्देश्यप्रेरित रहेको बताएका नेता गजुरेलले समान विचार र धारणा हुने वामपन्थी शक्ति एकीकृत नभई मुलुक समृद्धि बन्न नसक्ने ठोकुवा गरे। नेता गजुरेलले जेनजी आन्दोलन स्फुर्त भए पनि गलत दिशा दिन चलखेल गर्नेहरू हावी हुँदा भदौ २४ गते अराजक गतिविधि हुन पुगेको दाबी गरे। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजनले कम्युनिष्ट आन्दोलनका लागि ठूलो क्षति गरेको बताउँदै उनले उक्त विभाजनकै निरासाको कडीको रूपमा जेनजी आन्दोलन हुन पुगेको दाबी गरे। जेनजी आन्दोलनले दिएको चेतना स्वरुप आफूहरू सच्चिने र सच्याउने क्रममा एकताको आएको बताउँदै गजुरेलले यसलाई रुपान्तरणको सुरुआत भनेका छन्।
घनश्याम भुषाल र जर्नादन शर्मालाई गजुरेलले यथास्थितिवादीको रूपमा संकेत गर्दै गजुरेलले रुपान्तरणको मुद्दामा आउन नसकेर भागेको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीले मेचीका ४ मध्ये पाँचथर र ताप्लेजुङलाई सम्भावनाको केन्द्रको रूपमा राखेको उनको भनाइ थियो। पहिचानको मुद्दामा दह्रोसँग उभिन नसकेका कारण प्रदेश नामाङ्कनको विषयमा आफूहरू लज्जित हुनु परेको गजुरेलले बताए।
‘यो कमजोरी थियो र कमजोरीलाई सच्याउने प्रयासमा लागेका छौं,’ उनले भने। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोशी प्रदेशको पुनःनामाङ्कनका लागि आफूहरूले संशोधन प्रस्ताव दर्ताको तयारी गरिरहेको जनाए। प्रदेश सभाको विशेष अधिवेशन आवह्वानमार्फत पुनःनामाङ्कनको विषयमा आफूहरूले पुनःमतदान हुने गरीको व्यवस्था मिलाउन दबाब दिने तयारी रहेको राईले सुनाए।
कार्यक्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो), नेता खेलप्रसाद बुढाक्षेत्री (पराग), निताकुमारी सिवासहितको उपस्थिति रहेको थियो।
प्रकाशित: २५ मंसिर २०८२ ११:३० बिहीबार





