७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

यसपालिको निर्वाचन जनमत संग्रह पनि हो: महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले यस पटकको प्रतिनिधिसभा निर्वाचन सामान्य चुनाव मात्र नभएर जनमत संग्रह सरह भएको टिप्पणी गरेका छन्।

शनिबार विराटनगरमा आयोजित ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ मोरङको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले यस्तो धारणा राखेका हुन्।

महामन्त्री घिमिरेले आसन्न निर्वाचनमा विभिन्न शक्तिहरू फरक-फरक एजेन्डासहित मैदानमा उत्रिएकाले जनताले निकै सुझबुझपूर्ण ढंगले मतदान गर्नुपर्ने बताए।

‘यो निर्वाचनलाई नयाँ र पुराना शक्तिबीचको संघर्षका रूपमा चित्रित गरिएको छ,’ उनले भने, ‘नयाँ भनिएका शक्तिहरू कस्ता हुन्, पुराना शक्तिहरूको योगदान के छ र कांग्रेस कस्तो शक्ति हो भन्ने विषयमा गम्भीर समीक्षा हुन आवश्यक छ।’

सम्बोधनका क्रममा घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहप्रति आक्रामक टिप्पणी गरे। साहप्रति लक्षित गर्दै उनले भने, ‘अहिले केही मानिसहरू अर्कै ग्रहबाट आएजस्तो प्रवृत्ति देखाइरहेका छन्। जनतासँग कुनै संवाद छैन, आफूले पाएको ५ वर्षे जिम्मेवारी पूरा नगरी फेरि अर्को भूमिकामा सक्रिय हुन खोज्नु राजनीतिक बेइमानी हो।’

उनले एजेन्डाविहीन, लहर, हल्ला र तडकभडकमा लागिरहेको जमातप्रति सजग हुन मतदातालाई आग्रह गरे। आर्थिक वृद्धि, विकास र नयाँ नेपाल निर्माणका लागि कांग्रेससँग मात्र स्पष्ट एजेन्डा रहेको घिमिरेको दाबी थियो।

घिमिरेले मोरङ क्षेत्र नं-४ बाट प्रतिनिधिसभा सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन्। उनले आफ्नो उम्मेदवारी क्षेत्र विशेषका लागि मात्र नभई समग्र देश र जनताको हितका लागि भएको स्पष्ट पारे।

प्रकाशित: २४ माघ २०८२ १९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App