२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

यसपालि कर्णालीले सुइना देखेको थियो, तर नीति तथा कार्यक्रममा भेटिएन: सांसद शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले कर्णालीका नागरिकले यसपटक ठूलो ‘सुइना’ (सपना) देखेको भए पनि सरकारको नीति तथा कार्यक्रमले त्यसलाई निराशामा बदलेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै सांसद शाहीले कर्णालीको भूगोल र त्यहाँका जनताको पीडालाई राज्यले सधैंझैं यसपटक पनि उपेक्षा गरेको बताए।

सांसद शाहीले नयाँ अनुहार र नयाँ पुस्ताको नेतृत्व आएपछि कर्णालीका जनताले केही परिवर्तनको अनुभूति होला भन्ने आशा राखेको सुनाए।

उनले भने, ‘यसपालि कर्णालीले नयाँ सुइना देखेको थियो, नयाँ साथीहरूको आँखामा सुइना देखेको थियो। तर ती सुइनाहरू फेरि दन्त्यकथा मात्रै नबनुन् भन्ने हाम्रो चिन्ता हो।’

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतकै दस्तावेजको ‘हुबहु फोटोकपी’ भएको भन्दै रोष्टमबाटै असन्तुष्टि पोखे।

शाहीले राज्यसत्ताले कर्णालीलाई सधैं विभेद गरेको बताए। उनले भने, ‘नेपालभर २० हजार किलोमिटर सडक कालोपत्रे हुँदा कर्णालीमा जम्मा ३ सय किलोमिटर मात्रै छ। आज पनि बिरामी बोकेर अस्पताल पुर्‍याउन नपाउँदै बाटोमै ज्यान जाने अवस्था छ। आकाशमा हेलिकोप्टर देख्दा गाउँलेहरू आशा र पीडाले एकैपटक भरिन्छन्। के यो न्याय हो ?’

सांसद शाहीले समावेशिताको कुरा गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबै उपलब्धिको श्रेय आफूलाई मात्र दिएकोमा प्रतिवाद गरे।

इतिहासको तथ्य प्रस्तुत गर्दै उनले भने, ‘जनजातिको छोरो राज्यको माथिल्लो तहमा पुगेकै थिएन भन्नु गलत हो। मरिचमान सिंह श्रेष्ठ, पद्मसुन्दर लावती र द्वारिकादेवी ठकुरानी जस्ता व्यक्तित्वहरू पहिले नै राज्यको जिम्मेवारीमा पुगिसक्नुभएको थियो। हिजो केही नभएको र आज मात्रै सबै भएको भन्ने भाष्य सत्य होइन।’

प्रकाशित: २९ वैशाख २०८३ १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App