सिंहदरबारभित्रको मूल भवन अहिले खण्डहर झै देखिएको छ। सरकारी कर्मचारीहरु भने बिहीबार विहानदेखि फाट्टफुट्ट सिंहदरबार परिसरभित्र रहेका कार्यालयहरूमा जान थालेका छन्। तै पनि सिंहदरबार बिहीबार पनि बुधबार झै सुनसान देखिएको छ।
मूल भवन रहेको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा कृषि मन्त्रालय रहेको भवन पूर्ण रूपमा जलिसकेका छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, श्रम मन्त्रालय लगायत अधिकांश मन्त्रालयमा सामान्य क्षति भएको छैन। सामान्य क्षति सिंहदरबारभित्र रहेका प्राय: सबै भवनमा भएको छ। 'क्षति नभएको सिंहदरबार भित्र कुनै पनि भवन बाँकी छैनन्,' एक सरकारी कर्मचारीले भने। बिहीबार सिंहदरबार परिसरभित्र पुगेका अर्का एक कर्मचारीका अनुसार सिंहदरबारको मूल भवनमा मंगलबार लागेको आगो निभे पनि मूल भवन भित्र पट्टी रहेका कोठामा अझै पनि क्षति भइरहेको छ।

खासगरी २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गर्दा रिक्टोफिटिङ गरिएको तामाको तार अझै पनि भित्रभित्रै जलिरहेको छ।
सरकारी कर्मचारीले बनाएको ‘सार्वजनिक नीति संवाद’ समूहमा निजामती कर्मचारीहरूले ‘सिंहदरबारभित्र सरसफाइ गरौ’ भनी अभियान सुरु गरीरहेका छन्। तर सरसफाइको काम अझै सुरु नभएको बताइएको छ। खासगरी सिंहदरबार परिसरभित्र जलाइएका सरकारी गाडीको अवस्था निकै दर्दनाक छ। ‘पछि बनाउनै नसक्ने गरी गाडी पूर्ण रुपमा जलाइएका छन्। हेर्न पनि पीडा हुने अवस्थामा गाडी छन,’ सिंहदरबार भित्र पुगेका अर्का एक कर्मचारीले भने।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता काली प्रसाद रिजालका अनुसार सिंहदरबार परिसरभित्र रहेका सरकारी कर्मचारीलाई ‘बोलाएपछि आउनु भनेर’ अह्राइएको छ। कार्यालय पूर्ण रूपमा क्षति भएका मन्त्रालयमा कार्यरत कर्मचारीहरूलाई घरभित्रै बसेर काम गर्नु भनिएको छ।
सिंहदबारभित्र रहेका सबै चमेना गृह बन्द भएका छन्। परिसरभित्र जहाँतही गाडी जलेका तथा फुटेका शिशाका टुक्राहरू भेटिन्छन्, तक्कालै सरसफाइ गर्नु पर्ने अवस्था छ,’ अर्का एक कर्मचारी भने।
वेबसाइट चल्दैनन्
बिहीबार दिउँसोसम्म मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय तथा अर्थ मन्त्रालयको वेबसाइट चलेका छैन। श्रम, सहरी लगायत मन्त्रालयका वेबसाइट भने चलिरहेका छन्। 'सिस्टम नै क्षति भएका मन्त्रालयमा वेबसाइट चलेका छैनन्। अन्यमा भने चलिरेका छन्,' एक कर्मचारीले भने। मंगलबार देखि सिंहदरवार भित्र प्राविधिक कर्मचारीहरु गएका छैनन।

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार परिसरभित्र स्वास्थ्य मन्त्रालय बाहेक सबै मन्त्रिपरिषद्त था प्रधानमन्त्री कार्यालय लगायत सबै मन्त्रालयका कार्यालयहरू रहेका छन्। यसैगरी विभिन्न आयोग तथा सरकारी संचाार माध्यमका कार्यालयहरू पनि रहेका छन्। सिंहरबार पसिरभित्र रहेका कार्यालय तथा निकायहरूमा कार्यरत कर्मचारीहरुको संख्या झण्डै ६ हजारको हाराहारीमा रहेको संघीय मामिला मन्त्रालयका एक कर्मचारीले बताए।
प्रकाशित: २६ भाद्र २०८२ १३:५६ बिहीबार





