नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कुनै जग नभएको र सामान्य धक्काले नै ढल्ने टिप्पणी गरेका छन्।
शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई जगै नभएको संरचनासँग तुलना गर्दै यस्तो बताएका हुन्।
जेन-जी आन्दोलनपछि पहिलो पटक च्यासलस्थित पार्टी कार्यालय पुगेका ओलीले भने, ‘जग नभएको यसो हल्लाउँदा हल्लिने सरकार हो। कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको, हल्लिँदा पुक्लुक्क हुन्छ।’
उनले वर्तमान सरकारलाई म्याद नभएको म्यादी सरकारको संज्ञा दिँदै यसको वैधानिकतामाथि प्रश्न उठाए।
आफ्नो सम्बोधनका क्रममा ओलीले तोडफोड र आगजनीबाट बनेको सरकारले धाकधम्की देखाएको आरोप लगाए। उनले थपे, ‘जमाना भएको यसो हल्लिँदा पुक्लुक्क हुने, कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको हल्लिँदा पुक्लुक्क हुन्छ। अनि यो सरकारका यत्रा धाकधम्की ?’
उनले जेनजी आन्दोलनकारी युवाहरुलाई अरुले प्रयोग गरेको आरोप लगाउँदै उनीहरुको काँधमा बन्दुक राखेर पड्काइएको टिप्पणी गरे।
ओलीले भने, ‘काँक्रो चोर्नेले आफैँले खाएर अर्काको गालामा बियाँ टाँसिदिएजस्तो, जेन-जीका गालामा बियाँ टाँसेर सरकारमा पुगेका छन्।’
उनले राष्ट्रिय झण्डा ओढेर सिंहदरबारमा आगो लगाउने जस्ता अपराधिक क्रियाकलाप जेन-जीले गर्नै नसक्ने दाबी गरे।
देशमा नेकपा (एमाले) जिवितै रहेकाले शान्ति, सुव्यवस्था र कानुनी राज स्थापना गरेरै छाड्ने उनको भनाइ थियो।
उनले प्रहरीको हतियार खोसेर उनीहरुमाथि नै विभत्स आक्रमण गर्नेहरुलाई तत्काल पक्राउ गर्न छोड्न आदेश आउने गरेको भन्दै सरकारको आलोचना गरे।
प्रकाशित: १ कार्तिक २०८२ १५:४६ शनिबार





