६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मैले राम्रो काम गरेको सहनै सक्दैनन्, भत्काइदिइहाल्छन्: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले आफूले देश र जनताको हितमा सुरु गरेका विकासका आयोजनाहरू विरोधीहरूले सहन नसकेर बीचमै अवरोध गर्ने गरेको गुनासो गरेका छन्।

सोमबार आफ्नो गृहजिल्ला झापामा स्थानीय मतदाताहरूसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले आफूले विकासको नयाँ जग बसाल्न खोज्दा राजनीतिक षड्यन्त्र गरेर काम गर्न नदिइएको बताएका हुन्।

उनले देशभक्ति र विकासका काममा भित्र र बाहिरका शक्तिहरू मिलेर भाँजो हाल्ने गरेको आरोप लगाए। अध्यक्ष ओलीले नेपालमा राजनीतिक अस्थिरताकै कारण विकासका ठूला आयोजनाहरू अलपत्र पर्ने गरेको उल्लेख गरे।

‘मैले नेपालमा रेल र पानीजहाजको नयाँ सपना ल्याएँ, काम पनि सुरु गरेकै हो,’ ओलीले भने, ‘तर यहाँ कस्तो अवस्था छ भने, मैले काम सुरु गर्छु, उनीहरू सरकार भत्काइदिन्छन्। फेरि सुरु गर्छु, फेरि भत्काउँछन्।’

उनले थपे, ‘नेपालमा एक कार्यकालको काम पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्ने अवस्था सिर्जना गरियो। अलिकति राम्रो कामको नतिजा देखिन थालेपछि षड्यन्त्र गरेर सरकार ढाल्ने खेल सुरु भइहाल्छ।’

अध्यक्ष ओलीले विशेष गरी औद्योगिक क्षेत्र र रङ्गशाला निर्माणमा भएको अवरोधप्रति आपत्ति जनाए। झापामा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र र दमक रङ्गशालाको काम रोक्न अनेकौं शक्तिहरू लागेको उनको दाबी छ।

‘देशभित्र र बाहिरका अनेक शक्तिहरू यो देशमा विकास नहोस् भन्ने चाहन्छन्। औद्योगिक क्षेत्र बन्न नदिने, रङ्गशालाको योजनामा अवरोध गर्ने काम भइरहेको छ,’ उनले भने, ‘मैले नै जग्गा व्यवस्थापन गरेर सबै तयारी पूरा गरेको रङ्गशाला आज किन बनेन भनेर मलाई नै सोधिन्छ। काम गर्न नदिएपछि कसरी बन्छ ?’

आफ्ना योजनाहरूलाई मजाकको विषय बनाइएकोमा असन्तुष्टि जनाउँदै ओलीले विकासका गम्भीर कुरालाई उखान टुक्का भनेर उडाउने प्रवृत्ति गलत भएको बताए। उनले आफूले शास्त्र र इतिहासका आधारमा देशको समृद्धिको खाका कोरेको तर विपक्षीहरूले त्यसलाई बुझ्न नसकेको तर्क गरे।

अवरोधका बाबजुद पनि आफू र आफ्नो पार्टी विकासको एजेन्डाबाट पछि नहट्ने र स्थगित भएका योजनाहरूलाई पुनः गति दिने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रकाशित: ४ फाल्गुन २०८२ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App