आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) मोरङले छवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। एमाले मोरङका अनुसार मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, क्षेत्र नम्बर २ मा रंगेली नगरपालिकाका मेयर दिलीप वगडिया, क्षेत्र नम्बर ३ मा इरान राई, क्षेत्र नम्बर ४ मा जीवन घिमिरे, क्षेत्र नम्बर ५ मा मनोज अग्रवाल र क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई उम्मेदवार बनाइएको छ।
मोरङ क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम खतिवडा नेकपा एमाले कोशी प्रदेशका अध्यक्षसमेत हुन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए र नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूसँग पराजित भएका थिए।
मोरङ क्षेत्र नम्बर २ का उम्मेदवार दिलीप वगडिया रंगेली नगरपालिकाका प्रमुख हुन्। उनले हालै प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका हुन्।
मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार जीवन घिमिरे कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री हुन्। यसअघि २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीसँग पराजित भएका थिए।
यस्तै, मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार विनोद ढकाल २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीसँग पराजित भएका थिए।
नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ३ र ५ मा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले मोरङको क्षेत्र नम्बर २ मा मात्रै विजयी हुन सफल भएको थियो। सो निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका थिए।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङका तीन निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो। कांग्रेसबाट क्षेत्र नम्बर १ मा डिगबहादुर लिम्बू, क्षेत्र नम्बर ३ मा सुनिल शर्मा र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइराला निर्वाचित भएका थिए। त्यस्तै, एमालेले एक, स्वतन्त्र उम्मेदवारले एक र तत्कालीन नेकपा माओवादी केन्द्रले एक निर्वाचन क्षेत्रमा जित हासिल गरेका थिए। एमालेबाट क्षेत्र नम्बर २ मा ऋषिकेश पोखरेल, स्वतन्त्रबाट क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डल र नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्बर ४ मा अमनलाल मोदी निर्वाचित भएका थिए।
अघिल्लो निर्वाचनमा मोरङमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो। क्षेत्र नम्बर ५ बाहेक अन्य सबै क्षेत्रमा कांग्रेस–माओवादी गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा भएको थियो। क्षेत्र नम्बर ५ मा भने एमालेबाट बागी बनेका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल र कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट तत्कालीन नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलबीच प्रतिस्पर्धा भएको थियो।
मोरङमा आगामी निर्वाचनमा पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
प्रकाशित: ५ माघ २०८२ २०:०२ सोमबार





