नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने भनेको १५ औं महाधिवेशन मिति सर्ने सम्भावना प्रबल देखिएको छ।
पूर्वनिर्धारित मितिअनुसार महाधिवेशन सुरु हुन अब २३ दिन मात्र बाँकी छ। क्रियाशील सदस्यता फाराममा समस्या देखिएका कारण पुस २६ देखि तोकिएको महाधिवेशन कम्तीमा एक महिना सर्ने निकट स्रोतले जनाएको छ।
कुनै विवाद नहुँदा पनि पुस २६ गतेको समयसीमा भेटाउन कठिन-कठिन रहेको अवस्थामा क्रियाशील सदस्यता फाराममा समस्या आएपछि तोकिएको समयमा महाधिवेशन हुने अवस्था कमजोर बनेको एक पदाधिकारीले बताए।
उनले भने, ‘चार लाखप्रति नयाँ क्रियाशील सदस्यता फाराम फेरि जिल्लामा पठाउनुपर्ने अवस्था आएपछि अब पुस २६ मा महाधिवेशन सम्भव छैन।’ ती पदाधिकारीका अनुसार पुस अन्तिमसम्म क्रियाशील सदस्यता टुंगो लगाएर माघ अन्तिम अथवा फागुन पहिलो सातासम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन पनि नहुने निश्चित जस्तै भएको जनाउँदै ती पदाधिकारीले भने, ‘यदि प्रतिनिधिसभा निर्वाचन भइहाल्यो भने त्यसपछि महाधिवेशन हुन्छ।’
क्रियाशील सदस्यताको विषय टुंगो लगाएपछि महाधिवेशन मिति तलमाथि हुँदा खासै फरक नपर्ने ती पदाधिकारीले बताए। केन्द्रीय समितिको मंसिर १५ गतेको निर्णयअनुसार केन्द्रीय कार्यालयले जिल्ला हुँदै तल्लो तहमा पठाएका ६ लाखप्रति नयाँ क्रियाशील सदस्य फारामध्ये चार लाखमा सिरियल नम्बर छैन।
फाराममा सिरियल नम्बर नभएपछि तल्लो तहमा अन्योल र विवाद उत्पन्न भएको छ। यस विषयमा मंगलबार कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए।
लगत्तै सिरियल नम्बरबिनाको सदस्यता फाराम रद्ध गरी नयाँ पठाउन देउवाले निर्देशन दिएका थिए। महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले नयाँ फाराम फेरि जिल्लामा पठाउने निर्णय गरेको छ।
यसबाट पूर्वर्निधारित सदस्यता वितरण लगायतको कार्यतालिका प्रभावित भएको छ। ४८ दिनसम्म लम्बिएको केन्द्रीय समितिको बैठकले मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता फाराम केन्द्रबाट वितरण गरिसक्ने र २४ गतेसम्म वडासम्म पुर्याउने निर्णय गरेको थियो।
पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरणको काम सकेर १४ गते केन्द्रीय सभापति/कार्यवाहक सभापतिलाई सूची बुझाउने कार्यतालिकामा उल्लेख छ।
कांग्रेसले नयाँ क्रियाशील सदस्यताका विषयमा जिल्लास्तरीय प्रारम्भिक छानबिन समिति गठन गर्ने, समितिले पुस १२ गतेभित्र केन्द्रलाई जानकारी पठाउने र त्यसमा परेको पुनरावेदनलाई १४ गते सक्नेगरी कार्यतालिका बनाएको छ।
१५औं महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि कि पछि वा विशेष महाधिवेशन भन्ने विषयमा डेढ महिनाभन्दा बढीको रस्साकसीपछि केन्द्रीय समितिले पुस २६ बाट महाधिवेशन गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार सार्वजनिक कार्यतालिकामा पुस १५ गतेभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन गरिसक्ने, पुस १६ गते गाउँ/नगर वडा, १७ गते गाउँपालिका/नगरपालिका, १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने उल्लेख छ।
एक मात्र प्रतिनिधिसभा सदस्य चुनिने जिल्ला र क्षेत्रीय अधिवेशन पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा पुस २२ गतेका लागि अधिवेशन मिति तोकिएको छ।
पुस २३ र २४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिकामा उल्लेख छ। प्रदेश अधिवेशनलगत्तै पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो।
सिरियल नम्बर नभएका फाराम स्वीकार्य नहुने
नागरिक दैनिकका विराटनगर समाचारदाता विनोद सुवेदीका अनुसार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्धारित मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्।
गृहनगर विराटनगरमा बुधबार आएका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै दलहरू निर्वाचनका लागि तयार भए पनि सरकारले नै वातावरण बनाउन नसकेको बताएका हुन्। यसबाट सरकार नै निर्वाचन गराउने पक्षमा छैन भन्ने सन्देश प्रवाह भएको उनले बताए।
उनले भने, ‘कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ तर चुनाव गराउन सरकार नै इच्छुक छ कि छैन भन्ने चिन्ता लाग्न थालेको छ।’ तोकिएको मितिमा निर्वाचन नभए प्रतिनिधिसभा पुनः स्थापनाको प्रक्रिया अघि बढ्ने उनले बताए।
कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन मिति सर्ने हल्लाको विषयमा धेरै चिन्ता नलिन पनि आग्रह गरे। महाधिवेशनको मिति सर्छ त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘अहिले त्यो नसोचौं न, हामी समयमै गरौं भन्नेमै छौं तर सिरियल नम्बर नै नभएका क्रियाशील सदस्यता फारामहरू जिल्लामा गएका छन् भने त तोकिएको मितिमा गर्छु भनेर भन्नु पनि अलिकति ‘उ’ (समस्या) नै हुन्छ।’
कोइरालाले सिरियल नम्बर नभएका क्रियाशील सदस्यता फाराम स्वीकार्य नहुने पनि बताए। ‘सिरियल नम्बर नभएका क्रियाशील सदस्यता फाराम स्वीकार्य हुँदैन भनेर हामीले सभापतिजी (शेरबहादुर देउवा) लाई भनिसकेका छौं र त्यो क्यान्सिल पनि भएको छ,’ कोइरालाले भने, ‘सिरियल नम्बर नभएका फाराम कसैले नभर्नुहोला, नयाँ फारामहरू छिट्टै साथीहरूको माझमा आउनेछन्।’
प्रकाशित: २ पुस २०८२ २०:५२ बुधबार



-600x400.jpg)

