जेन-जी आन्दोलनका प्रतिनिधि मिरज ढुंगानाले अक्टोबर ९ मा हुने भनिएको प्रदर्शनमा जेन-जी युवा सहभागी नहुने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा फैलिएको ‘फेरी प्रदर्शन’सम्बन्धी सञ्चारमाध्यम र सन्देशप्रवाहबिच आफूहरूले कुनै हिंसात्मक वा तोडफोडजन्य गतिविधिमा संलग्नता नहुने ढुंगानाको भनाइ छ।
टिकटकमार्फत सार्वजनिक गरेको वक्तव्यमा ढुंगानाले भने, 'अक्टोबर ९ मा कुनै पनि खालको हिंसा र तोडफोड हुने काममा हाम्रो संलग्नता हुने छैन। जेन-जीको संलग्नता हुने छैन।' उनले भदौ २३ मा गरिएको प्रदर्शनले पहिले नै आफ्नो उद्देश्य पूरा गरेको र त्यसले महत्त्वपूर्ण उपलब्धि दिलाएको दाबी गरे।
ढुंगानाले भदौ २३ को प्रदर्शनमा 'हामी मुसो मार्न गएका थियौँ, बाघ मारेर ल्यायौँ' भन्दै थप कुनै स्पष्ट एजेन्डा र लक्ष्य बिना फेरी प्रदर्शनमा सहभागी नहुने स्पष्ट पारे। आवश्यक परे रणनीतिसहित भविष्यमा शान्तिपूर्ण दबाबका कार्यक्रम मात्रै प्रयोग गरिने बताए।
उनी भन्छन्, 'एजेन्डाबिना, के गर्ने भन्ने थाहा नपाइ हामी कुनै खालको प्रदर्शनमा सहभागिता जनाउँदैनौँ । गर्नुपरे शान्तिपूर्ण प्रदर्शन गरौँला तर हिंसा हुने खालको प्रदर्शनमा हाम्रो संलग्नता हुने छैन। एक हिसाबले बनेको शान्ति हामी फेरि भंग गर्ने वाला छैनौँ।'
ढुंगानाका अनुसार आन्दोलनको प्राथमिकता भनेको आवश्यक माग पुरा गराइ दबाब दिने हो, तर दबाब पनि शान्तिपूर्ण र योजनात्मक ढंगले मात्र दिइनेछ। अहिले प्रदर्शन गर्ने कुनै विशिष्ट कारण पनि नरहेको उनको तर्क छ र जेन-जीले अनावश्यक हिंसात्मक गतिविधि गरे स्वतः अस्वीकार गर्ने बताए।
प्रकाशित: १५ आश्विन २०८२ १४:१५ बुधबार





