राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच कुनै पनि प्रकारको वैचारिक मतभेद वा शक्ति सङ्घर्ष नरहेको बताएका छन्।
नागरिक न्युजको डिजिटल संवाद ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले बाहिर चर्चा भएजस्तो नेतृत्व तहमा कुनै दरार नरहेको दाबी गरे।
पछिल्लो समय सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच कार्यशैली र कतिपय नियुक्तिलाई लिएर कुरा नमिलेको चर्चा भइरहेका बेला सांसद पोखरेलले त्यसको खण्डन गरेका हुन्।
‘उहाँहरू दुई जना बसेर जे निष्कर्ष निकाल्नुहुन्छ, त्यही निर्णय कार्यान्वयनमा जान्छ,’ उनले भने, ‘निर्णय हुनुअघि फरक फरक दृष्टिकोण आउनु स्वाभाविक हो, तर निर्णय भइसकेपछि त्यो पार्टी र सरकारको साझा धारणा बन्छ।’
सांसद पोखरेलले नेतृत्वको टिमलाई ‘एकै व्यक्तिको दुई मुटु’ भएको बताउँदै कसैलाई जिम्मेवारी दिने विषयमा गहन विश्लेषण गरेर मात्र निष्कर्षमा पुग्ने पद्धति रहेको सुनाए।
उनले भने, ‘बेटर को हो भन्ने कुरामा छलफल चल्छ, तर फाइनल डिसिजनमा पुगेपछि दुवैको पूर्ण सहमति हुन्छ। हामीभित्र कसैलाई काखा र कसैलाई पाखा गर्ने सोच छैन।’
विगतमा पुराना दलहरूमा सरकार र पार्टी सञ्चालनका बीचमा देखिने गरेको द्वन्द्व रास्वपामा नदोहोरिने उनले जिकिर गरे। अहिलेको सरकारले लिएको कामको गति र निर्णय प्रक्रियाले नै नेतृत्वबीचको बलियो समन्वयलाई पुष्टि गर्ने उनको भनाइ छ।
सांसद पोखरेलले थपे, ‘हाम्रो एउटै उद्देश्य सुशासन र मुलुकको परिवर्तन हो। यो लक्ष्य प्राप्तिका लागि सभापति र प्रधानमन्त्री एउटै आवाजका साथ अघि बढिरहनुभएको छ। त्यसैले बाहिर आउने हल्लामा कुनै सत्यता छैन।’
उनले पार्टी र सरकार दुवैले नागरिकको अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको र यसमा कतैबाट पनि विचलित नहुने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: २ वैशाख २०८३ २०:२१ बुधबार




