२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

‘पार्टीभित्र नातावाद र कृपावादलाई ठाउँ छैन, गल्ती भए तत्कालै खबरदारी हुन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले आफ्नो पार्टीभित्र नातावाद, कृपावाद र कुनै पनि खालको त्रुटि स्वीकार्य नहुने बताएका छन्।

नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा कुराकानी गर्दै उनले पार्टीका सांसद र केन्द्रीय सदस्यहरूबीच एकअर्कालाई सच्याउने र खबरदारी गर्ने संयन्त्र रहेको सुनाए।

‘हिजोका दलहरूमा जस्तो आफ्नो गुट वा नजिकको मान्छे भनेर बचाउने पद्धति हामीकहाँ छैन,’ पोखरेलले भने, ‘हाम्रो आन्तरिक ग्रुपमा कसैबाट सानो गल्ती भए पनि तत्कालै त्यसको प्रतिक्रिया आउँछ र सच्याउन दबाब दिइन्छ।’ उनले अहिलेको नेतृत्वको कार्यसम्पादनको गतिले नै नागरिकमा विश्वास जगाएको उल्लेख गरे।

सांसद पोखरेलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेले निकै उत्साहजनक र द्रुत गतिमा काम अघि बढाइरहेको बताए।

आफूले जिल्लाका समस्याका बारेमा दिएको रिपोर्ट तत्कालै सम्बन्धित मन्त्रालयहरूमा सर्कुलेसन भएर कार्यान्वयनको प्रक्रियामा गएको उनले सुनाए।

मुलुकको प्रशासनिक झन्झट अन्त्य गर्न अबका दिनमा कार्यालय नै नगई अनलाइनबाटै सेवा लिन सक्ने व्यवस्थालाई रास्वपाले प्राथमिकतामा राखेको उनले जानकारी दिए।

उनले यदि आफूहरूले पनि डेलिभरी दिन नसके आगामी चुनावमा जनताले दण्ड दिने कुरामा आफूहरू सचेत रहेको समेत बताए।

प्रकाशित: २ वैशाख २०८३ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App