नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब नेपालमा फेरि विद्रोह गर्ने, युद्ध गर्ने वा हतियार उठाउनुपर्ने र सकिने दुवै अवस्था नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्राप्त अधिकार गुम्ने खतरा बढेको भए पनि त्यसको रक्षाका लागि अब सशक्त शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको स्पष्ट पारे।
‘फेरि विद्रोह गर्न, युद्ध गर्न, हतियार उठाउन पर्ने र सक्ने दुवै ठाउँमा छैनौं। पर्ने ठाउँमा नि पुगिसक्या छैनौं, सक्ने ठाउँमा नि पुग्या छैनौं,’ अध्यक्ष प्रचण्डले भने।
उनले सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्न खोज्दा आफ्नो नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक हटाइएको दाबी गरे। ‘कसरी बाहिरियौं त भन्दा, जो सुशासन विरोधी छन्, जो भ्रष्टाचारमा लिप्त छन्, जो दलित र उत्पीडित वर्ग विरोधी छन्, उनीहरूले ठूलो जालझेल र षड्यन्त्र गरेर राम्रो काम गर्न खोज्दा हामीलाई हटाइयो,’ उनले भने।
अध्यक्ष दाहालले वर्तमान सरकारप्रति लक्षित गर्दै उनीहरूसँग दुई तिहाइको बहुमत भए पनि त्यसको प्रयोग भ्रष्टाचार र भ्रष्टलाई बचाउन भइरहेको आरोप लगाए।
‘अहिले हामी त्यस्तो ठाउँमा छौँ, जहाँ उनीहरूले दुई तिहाइ लिएर बसेका छन्। जति उफ्रे पनि केही हुन्न भन्ने छ,’ उनले भने, ‘भ्रष्टहरूलाई बचाइएकै छ, अदालतलाई पट्याइएकै छ, संवैधानिक निकाय कब्जा गरिएकै छ।’
संविधानमा दलित र उत्पीडित समुदायका लागि धेरै राम्रा अधिकार लेखिए पनि राज्यको संरचना र कर्मचारीतन्त्रका कारण कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो।
‘संविधानमा राम्रा कुरा लेखिए, तर लागु गर्ने तागत हामीसँग छैन। जोसँग तागत छ, उनीहरू लागु गर्न चाहँदैनन्,’ उनले भने, ‘त्यसैले अहिले हामीसँग रहेको विकल्प भनेको सदन, सडक र सरकारका सबै मोर्चाबाट सशक्त हस्तक्षेप र आन्दोलन नै हो।’
उनले दलित समुदायलाई पनि अब संयुक्त रूपमा सशक्त आन्दोलनको तयारी गर्न अपिल गरे।
प्रकाशित: १४ भाद्र २०८२ १७:३० शनिबार





