नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेको अवस्थामा पार्टीको विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै प्रवक्ता महतले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउन त समय र तयारी नपुगेको अवस्थामा विशेष महाधिवेशनको रटान लगाउनु व्यावहारिक नहुने बताएका हुन्।
डा. महतले वर्तमान सभापति शेरबहादुर देउवा विधानतः अब पुनः सभापतिमा नउठ्ने निश्चित भएकाले नेतृत्व परिवर्तनका लागि हतार गरेर विशेष महाधिवेशन माग गर्नुको अर्थ नहुने जिकिर गरे।
‘हाम्रो सभापतिजी अब हुने होइन, विधानको त्यही व्यवस्था छ। उहाँ अब दोहोरिनुहुन्न,’ महतले भने, ‘त्यसैले अहिले विशेष महाधिवेशन गरेर, हतार गरेर अर्को नेतृत्व ल्याउनुपर्ने र त्यसका लागि पार्टीभित्र झगडा गर्नुपर्ने अवस्था छैन।’
प्रवक्ता महतले अबको डेढ–दुई महिनापछि आम निर्वाचन आउन लागेकाले पार्टीको सम्पूर्ण ध्यान त्यतै केन्द्रित हुनुपर्नेमा जोड दिए।
निर्वाचनको मुखमा महाधिवेशन गर्दा पार्टीभित्र गुटबन्दी र प्रतिस्पर्धा बढ्ने भएकाले एकताबद्ध भएर विपक्षीसँग लड्न आम निर्वाचन कुर्नुपर्ने उनको तर्क छ।
‘आम निर्वाचनमा बढीभन्दा बढी जनताको मत प्राप्त गरेर संसदमा जाने लक्ष्यमा हामी एकीकृत हुनुपर्छ,’ उनले भने, ‘आम निर्वाचनको लगत्तै प्रक्रिया सुरु गरेर नयाँ नेतृत्व चुन्नु नै पार्टीको हितमा हुन्छ। अहिले विशेष महाधिवेशन भनेर हल्ला गर्नुको तुक छैन।’
प्रकाशित: १६ पुस २०८२ १९:३४ बुधबार





