२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

संसदमा रित्ता कुर्सीहरू धेरै देखिए, यसरी लोकतन्त्र बलियो हुन्न: हर्क

श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको न्यून उपस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सदनका आधाभन्दा बढी कुर्सीहरू खाली देखिनुले संसदीय प्रणालीप्रति जनप्रतिनिधिहरूको उदासीनता झल्काएको टिप्पणी गरे।

अध्यक्ष साम्पाङले संसदमा आउन मन लाग्दा आउने र नलाग्दा नआउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले भने, ‘आज पनि यहाँ आधा जति कुर्सीहरू खाली छन्। सदनमा आउन मन लाग्दा आउने र नलाग्दा नआउने यो कस्तो परिपाटी हो ? यस विषयमा सम्मानीय सभामुखको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

अध्यक्ष साम्पाङले जनप्रतिनिधिहरूले संसदलाई केवल ‘कर्मकाण्ड’ पूरा गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताए। उनले थपे, ‘हामी एउटै प्रणालीका अङ्ग हौं। कोही गियर हौंला, कोही एक्सिलेरेटर त कोही ब्रेक। तर यहाँ जनताका समस्यामा गम्भीर हुनुको साटो को बढी जान्ने हुने र कसले कसलाई बढी आरोप लगाउने भन्ने प्रतिस्पर्धा मात्र देखियो।’

प्रधानमन्त्रीको उपस्थितिलाई लिएर प्रश्न गर्दै उनले भने, ‘यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ? छ भने उहाँले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदले उठाएका प्रश्नको जबाफ नदिनु भनेको जनताको आवाजलाई बेवास्ता गर्नु हो।’

उनले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा उभिएर जबाफ दिन नसक्नुलाई अयोग्यताको नमुना भन्दै आलोचना गरे।

प्रकाशित: २९ वैशाख २०८३ १६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App