भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको बताएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार पत्रकारसँग कुराकानी गर्दै अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी रहेको बताए।
यद्यपि ओलीले अध्यक्ष कार्कीकै विवादित पूर्व अभिव्यक्तिलाई कारण देखाउँदै आयोगलाई अस्वीकार गरेर बयानमा नजाने भनिसकेका छन्। ओलीले ‘गोली ठोके हुन्छ तर बयान दिन जान्न’ भनेर कठोर भाषामै अभिव्यक्ति दिएका छन्।
पत्रकारले ओली ‘बयानमा बोलाउँदा पनि आउनुभएन भने के गर्नुहुन्छ?’ भन्ने प्रश्न अध्यक्ष कार्कीलाई राखेका थिए। जसको जवाफमा उनले–‘भोलिको कुरा भोलि नै हुन्छ,’ भन्दै कुरा टारेका थिए।
लेखकले पुस १४ गते दुई घण्टा र बुधबार थप ४ घण्टा गरेर आयोगसमक्ष बयान दिइसकेका छन्। लेखकले आफू लोकतन्त्रवादी भएकाले प्रश्न उठेपछि जवाफ दिनुपर्ने भन्दै बयानमा उपस्थित भएको प्रतिक्रिया दिएका थिए।
प्रकाशित: १७ पुस २०८२ १५:५२ बिहीबार





