२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
राजनीति

लेखकले पनि खोले मुख: पीडा भएर तत्कालै राजीनामा दिएको हुँ

‘तत्कालीन प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका छैनौँ’

नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा निकै ठुलो र दुखद घटना भएको टिप्पणी गरेका छन्। तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले एक महिनापछि मुख खोल्दै यस्तो बताएका हुन्। मातृ शोकपछि भर्खर बाहिर निस्किएका लेखकले शुक्रवार पत्रकारसँग कुराकानी गर्दै पहिलो दिनको घटनामै आफूलाई ठुलो पीडा भएकाले तत्कालै राजीनामा दिएको पनि बताए। 

‘भदौ २३ र २४ गते जेन–जी पुस्ताले राखेका माग समग्र नेपाली जनताकै माग, चाहना, आवश्यकता थिए,’ लेखकले भने, ‘उहाँहरूले गरेको प्रदर्शनमा दुर्भाग्य बस घुसपैठ भयो र निकै दुखदायी घटना भए। सबैभन्दा पहिला म दुवै दिनका घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोक सन्तप्त परिवारहरूमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु।’ सँगै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे। 

ती घटना अत्यन्त दुखदायी र पीडादायी रहेको लेखकले बताए। ‘मैले २३ गतेको दिनमा त्यस्तो घटना भइसकेपछि त्यसै दिन तत्काल नै तत्कालीन गृहमन्त्रीको पदबाट मैले राजीनामा पनि गरिसकेको थिएँ,’ उनले भने, ‘त्यसपछि २४ गतेका दिन पनि अत्यन्त दुखदायी र पीडादायी घटनाहरू भए।’ 

अहिले आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध त्यो घटनामा बल प्रयोग गर्न दबाब दिएको गलत आरोप लागिरहेको पनि उनले टिप्पणी गरे। ‘यी विषयहरूमा सम्माननीय प्रधानमन्त्री जो सुकै भए पनि गृहमन्त्रीले आदेश गर्ने यी विषय होइनन्। र त्यस्तो खालको कुनै बल प्रयोग गर्ने आदेश गरिएको छैन, भनिएको छैन’, लेखकले भने। प्रधानमन्त्री ओली र आफ्नो दुवैको तर्फबाट त्यसो नभएको उनले दाबी गरे। 

धेरै दुखद घटना भएकै कारण आफूलाई गहिरो पीडा भएकैले आफूले तत्काल मन्त्री पदबाट राजीनामा दिएको पनि उनले दाबी गरे। 

प्रकाशित: २४ आश्विन २०८२ १५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App