प्रतिनिधिसभा सदस्य निश्कल राईले नेताको घर अगाडि शंकास्पद गाडी पार्किङ ,सुकुम्बासी होल्डिङ सेन्टरमा भएको दमन तथा गणेश नेपालीको मृत्युपछिका घटनाक्रम एउटै प्रवृत्तिसँग जोडिएको बताएका छन्।
यी सबै घटनाले सरकार प्रश्न उठाउने नागरिकलाई दण्डित गर्ने मानसिकतामा अघि बढिरहेको संकेत गरेको बताएका छन्। उनले गृहमन्त्रीको कार्यक्षेत्रभित्र पर्ने सुरक्षा र व्यवस्थापनमा कमजोरी देखिएको अवस्थामा त्यसको जिम्मेवारी स्वीकार गर्नुको सट्टा स्थानीय तहलाई दोष थोपर्ने प्रयास भएको भन्दै नागरिकले ज्यान गुमाएको दुःखद घटनालाई समेत राजनीतिक लाभका लागि प्रयोग गर्न खोजिएको बताए।
उनले बहुमतको सरकार हुनु संविधानभन्दा माथि हुने आधार नभएको भन्दै संविधानको सर्वोच्चता सबैले स्वीकार गर्नुपर्ने बताए। साथै सरकारले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाउन नपाइने वातावरण बनाउन खोजिरहेको बताउँदै संविधान र कानुनको सीमाभित्र रहेर उठाइने प्रश्नलाई पनि अस्वीकार्य ठान्ने प्रवृत्तिले लोकतन्त्र कमजोर हुने बताए।
उनले राज्यका संरचनाहरू क्रमशः अनौपचारिक शक्ति केन्द्रहरूको प्रभावमा पर्न परेको कारण प्रहरी प्रशासनले पनि शक्तिको निर्देशन पालना गर्न थाल्नुको साथै राज्य र सत्तारुढ दलबीचको सीमारेखा मेटिने अवस्था आउने बताए। यस्तो प्रवृत्तिलाई उनले ‘पैट्रिमोनियल शासन’ को संकेत रहेको बताए।
प्रकाशित: ३० असार २०८३ १३:४६ मंगलबार





