राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशमा जनताको निराशा बढ्दै गएको र राज्य संकटमा परेको बताएका छन्। उनले लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले राज्य, जनता र लोकतन्त्र सुरक्षित रहे मात्रै भविष्यमा राजनीति गर्ने अवसर रहने भएकाले सबै दलले राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताए।
‘म सम्पूर्ण राजनीतिक दललाई, संसद्मा प्रतिनिधित्व गर्ने र संसदबाहिर रहेका सबै दललाई आग्रह गर्छु, यसलाई घोचपेचको विषय नबनाऔँ। राज्य, जनता र लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला। कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा, तर सत्ता र प्रतिपक्ष स्थायी होइन,’ उनले भने।
उनले जनतामा देशमा बाँच्न सकिँदैन भन्ने नकारात्मक भाष्य निर्माण हुन नदिन आग्रह गरे। राज्यले सबै नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने र राष्ट्रिय मुद्दामा गम्भीर बहस तथा साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए।
प्रकाशित: ३० असार २०८३ १२:३३ मंगलबार





