प्रतिनिधिसभा सदस्य निश्कल राईले नेपाली कांग्रेसले पार्टीका सभापति गगन थापाको घरअगाडि प्रहरी प्रशासनकै सहयोगमा शंकास्पद गाडी पार्किङ गराएर आतंक सिर्जना गरिएको बताएका छन्।
आजको प्रतिनिधिसभामा बोल्दै उनले १८२ सिटको बहुमतको सरकारको आलोचना गरेकै कारण सभापति थापाको घरअगाडि शंकास्पद गाडी लगेर पार्किङ गरिएको बताए।
‘सरकारमाथि किन प्रश्न गरिस् भन्दै सभापतिज्यूको घरअगाडि गाडी लगेर पार्क गरियो। त्यो पनि प्रहरी प्रशासनकै सहयोगमा। शंकास्पद लागेपछि समुदायले शान्ति सुरक्षा खोज्यो, तर प्रहरी मुकदर्शक बन्यो,’ उनले भने।
उनले उक्त घटनालाई ‘राज्य आतंक’ को संज्ञा दिँदै बाटो अवरुद्ध गर्ने र सर्वसाधारणमा त्रास सिर्जना गर्ने उद्देश्यले गाडी पार्किङ गरिएको बताए।
यस्तै प्रकृतिको कान्तिपुर र अनलाइनखबरजस्ता सञ्चारमाध्यमको कार्यालयअगाडि पनि पार्किङ गरिएको भन्दै उनले शंकास्पद रूपमा पार्किङ गरिएका ती गाडीका कारण सञ्चारमाध्यमको आवतजावत प्रभावित भएको समेत बताए।
प्रकाशित: ३० असार २०८३ १२:११ मंगलबार





