५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राज्यले नागरिकलाई भूमिहीन बनाएर राख्न मिल्दैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफ्ना नागरिकलाई सधैँभरि भूमिहीन बनाएर राख्न नमिल्ने बताएका छन्।

सोमबार चितवन क्षेत्र नम्बर-२ अन्तर्गत आपटारीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै लामिछानेले वर्षौंदेखि जकडिएको भूमिहीन र सुकुम्बासी समस्यालाई अब सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

विगतमा सुकुम्बासी समस्यालाई दलहरूले राजनीतिक स्वार्थका लागि मात्र प्रयोग गरेको बताउँदै उनले अब यसको स्थायी समाधान आवश्यक रहेको औँल्याए।

लामिछानेले भने, ‘राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न सक्दैन। यो समस्या अब सदाका लागि अन्त्य हुनुपर्छ।’

सभापति लामिछानेले भूमिहीन समस्या समाधानका लागि परम्परागत राजनीतिक आयोग नभई विज्ञहरूको टोली खटाउने योजना सुनाए।

रास्वपाको नेतृत्वमा बलियो सरकार बनेपछि शक्तिशाली आयोग गठन गरिने र त्यसमा दलका कार्यकर्ता नराखिने उनको भनाइ छ।

‘अब बन्ने आयोगमा कुनै पनि राजनीतिक दलका प्रतिनिधि वा कार्यकर्ता भर्ती गरिने छैन,’ उनले भने, ‘हामी दलबाहिरका विषयविज्ञहरूलाई समावेश गरेर निष्पक्ष आयोग बनाउनेछौँ।’

उनले आगामी सरकारले नीतिगत, कानुनी तथा प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित ढंगले व्यवस्थापन गर्ने स्पष्ट पारे।

प्रकाशित: ४ फाल्गुन २०८२ १७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App