२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको गुनासो: ‘रंगशाला बन्दैछ, खुसी हुनु छैन, दुई दिन किन नाघ्यो भनेर सोध्छन् !’

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणमा भएको प्रगतिको प्रशंसा गर्नुको साटो सामान्य ढिलाइलाई लिएर अनावश्यक आलोचना भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले विभिन्न प्रक्रियागत जटिलताका कारण काममा केही ढिलाइ भए पनि रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बताए।

बुधबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले रंगशाला निर्माणको विषयलाई लिएर भइरहेको आलोचनाको प्रतिवाद गरकेा हुन्।

‘रंगशाला त बन्दै छ त ! तयार हुने स्थितिमा पुगिसक्यो। यसमा खुसी हुनु छैन, दुई दिन किन नाघ्यो भन्छन्,’ प्रधानमन्त्री ओलीले आक्रोशपूर्ण शैलीमा प्रश्न गरे, ‘दुई दिन लाग्न सक्छ।’

उनले रंगशाला निर्माणको कामलाई तीव्रता दिन आफूले ३०० दिनको समयसीमा तोकेको तर विभिन्न बाधाका कारण समयमै काम सुरु हुन नसकेको स्वीकार गरे।

‘मैले तीव्रताका लागि, छिटो होस् भन्नका लागि ३०० दिन भनेर तोकेको थिएँ,’ उनले भने, ‘तर हाम्रा प्रक्रियाका जटिलता, खरिद प्रक्रियाका जटिलता, भूमिका स्वामित्वका जटिलता आदि कारणले काम प्रारम्भ गर्नै पुससम्म लाग्यो।’

प्रधानमन्त्रीले काम सुरु गर्नै ५ महिना लागेको र वर्षाले पनि थप कठिनाइ बनाएको अवस्थामा केही ढिलाइ हुनु स्वाभाविक भएको तर्क गरे।

उनले सकारात्मक कामको पनि आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भने, ‘काम गरेकोमा जस दिन पनि कहिले कहिले यसो सिक्दाखेरि हुन्थ्यो। मानसिकतालाई अलिकति सकारात्मक बनाए पनि हुन्थ्यो।’

आफ्नो सरकार विकास निर्माणमा प्रतिबद्ध रहेको बताउँदै उनले प्रक्रियागत झन्झट र नकारात्मक सोचका बाबजुद पनि महत्त्वपूर्ण आयोजनाहरू अघि बढिरहेको दाबी गरे।

प्रकाशित: ७ श्रावण २०८२ १५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App