नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले महामन्त्रीद्यवको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनसम्म पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
बिहीबार उपसभापति पूर्णबहादुर खड्कासहितको भेटघाटमा पूर्वमहामन्त्री सिटौलाले भने, 'महामन्त्रीद्वयको यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने स्थितिसम्म पुर्याइदिन सक्छ ।'
सिटौलाले जेन-जी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको स्मरण गर्दै हस्ताक्षर अभियानले पार्टी र संगठनमा पनि आगो सल्कने बताए । संगठनमा आगो लगाउने काममा सक्रिय नबन्न सबैमा उनको अपिल थियो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अभियानमा सहभागी हुन बारम्बार फोन गरेको जानकारी गराउँदै सिटौलाले हस्ताक्षर गर्ने र नगर्नेबीचमा समूह विभाजन हुने उल्लेख गरे । यसले आगामी निर्वाचनमा पनि धक्का लाग्नसक्ने संकेत गर्दै राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले एकजुट भएर निर्वाचनमा जाँदा अन्तर्घात हुने गरेको प्रशंग उठाए ।
हस्ताक्षर अभियानले निर्वाचनमा पनि पार्टीभित्र दुई स्पष्ट धार देखिने उनको दाबी थियो ।
महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषयलाई लिएर विशेष महाधिवेशन बोलाउन मागसहित देशव्पापी हस्ताक्षार अभियान चलाइरहेका छन् । ५० प्रतिशत बढी कार्यकर्ताले हस्ताक्षर गरेको उनीहरूको दाबी छ ।
प्रकाशित: २३ आश्विन २०८२ ११:५८ बिहीबार




-600x400.jpg)
