हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले प्रधानमन्त्रीको कार्यशैली र संसद् बैठकमा अनुपस्थितिको विरोध गर्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ।
सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने विषयमा अन्य प्रतिनिधिलाई पठाउने प्रवृत्तिप्रति आपत्ति जनाए। उनले देशमा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सक्रियता नदेखिएको टिप्पणी गरे।
साम्पाङले सत्तापक्षले संसदीय प्रक्रियामा एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाउँदै प्रतिपक्षको आवाज दबाउने प्रयास भइरहेको बताए। नीति तथा कार्यक्रम तथा बजेटजस्ता गम्भीर विषयमा पर्याप्त छलफलको समय नदिई अत्यन्तै छोटो अवधिमा अध्ययनका लागि दस्ताबेज उपलब्ध गराइएको उनको भनाइ थियो।
बैठक बहिष्कारपछि उनले भने, “प्रधानमन्त्री आफैँ उपस्थित हुनुपर्ने र टेबल गर्नुपर्ने विषयमा अरूलाई पठाउने गरिएको छ। मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भएकाले विरोधस्वरूप बैठक बहिष्कार गरेका हौँ। आज ठेलीका ठेली किताब दिने र भोलिपल्टै पढेर आउनु भन्ने शैली उचित छैन। नीति तथा कार्यक्रम र बजेटजस्ता गम्भीर विषयमा पनि पर्याप्त समय दिइएको छैन।”
उनले आफ्नो दल बैठकबाट बाहिरिएको जानकारी दिँदै अन्य दलहरूले पनि असन्तुष्टि जनाइरहेको बताए। सरकारले प्रतिपक्षी आवाजलाई बेवास्ता गर्न खोजेको संकेत देखिएको उल्लेख गर्दै उनले प्रतिपक्षलाई दबाउन नसकिने चेतावनी दिए।
साम्पाङले जनप्रतिनिधिले उठाएका विषय र सरकारको कार्यशैलीको मूल्याङ्कन अब आम नागरिकले गर्ने बताए।
प्रकाशित: ३० वैशाख २०८३ १५:२९ बुधबार




