राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध सदस्यहरूको संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य संख्या ५ लाख २३ हजार नाघेको जानकारी दिएका हुन्। गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत ल्याएको थियो।
प्रतिवेदनअनुसार पार्टीमा पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ र महिला सदस्य ८९ हजार ८९६ रहेका छन्। यस्तै अन्य लिङ्ग समूहका ५८८ सदस्य रहेका छन् भने ३६ हजार १९२ जनाले आफ्नो लैंगिक विवरण खुलाएका छैनन्।
सदस्यताको प्रतिशत हेर्दा पुरुषको हिस्सा ७५.८ प्रतिशत रहेको छ। महिला सदस्य १७.२ प्रतिशत छन् भने अन्य समूह ०.१ प्रतिशत र लैंगिक विवरण नखुलाउने सदस्य ६.९ प्रतिशत रहेका छन्।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न प्रतिवेदन प्रस्तुत भइसकेपछि अब नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ। महाधिवेशनमार्फत पार्टीको सभापति सहित ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन गरिनेछ।
निर्वाचन प्रणालीअनुसार सातै प्रदेशबाट अनिवार्य रूपमा पाँच–पाँच जना प्रतिनिधित्व गराइनेछ, जसमा प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिला रहने व्यवस्था गरिएको छ। बाँकी ६४ पदका लागि खुला प्रतिस्पर्धा हुनेछ।
केन्द्रीय सभापति र ९९ सदस्यीय केन्द्रीय समिति चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ।
प्रकाशित: ९ असार २०८३ १७:२७ मंगलबार





