जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गरेका छन्।
अग्रगामी मोर्चाले शनिबार जनकपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणबाट असफल भइसकेको बताएका हुन्।
सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने कुरा गरे पनि पछिल्लो चार महिनामा तीन लाख नेपाली विदेश गएको तथ्यलाई गम्भीर रूपमा लिनुपर्ने राउतले बताए।
स्वास्थ्य बीमा रोकेर सरकारले जनतालाई दुःख दिने काम गरेको उनको आरोप थियो। सीमानाकाबाट एक दर्जन केरा ल्याउँदासमेत रोक्ने सरकारको नीतिको उनले आलोचना गरे।
सरकारका गतिविधिको सामाजिक सञ्जालमार्फत विरोध गर्नेहरूलाई तत्काल पक्राउ गर्न लगाउने जस्ता गतिविधिले पनि सरकार असफल भएको पुष्टि गर्ने राउतको दाबी थियो।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दल तथा नेताहरूले विगतमा ठूलो गल्ती गरेको स्वीकार गरे।
पदको लोभमा आफूहरू मूल लक्ष्यबाट विचलित भएको स्वीकार गर्दै यादवले अब आफ्ना गल्ती सच्याएर मधेशवादी दलहरू एकजुट हुनुपर्ने बताए। उनले छठ पर्वपछि पुनः सडक आन्दोलनमा जाने घोषणा पनि गरे।
प्रधानमन्त्री बालेन्द्र साहले ‘बल्गर मधेश’ बनाउने भाषण गरे पनि सरकार गठन भएको ६ महिनाभन्दा बढी समय बितिसक्दा संविधान संशोधनको विषय बिर्सिएको यादवको आरोप थियो।
उनले जनसंख्याका आधारमा बजेट विनियोजन गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग दोहोर्याए।
कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट दुई हजारभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रकाशित: २७ भाद्र २०८३ १९:१० शनिबार





