२७ भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

कार्यक्रमस्थलबाट किन लखेटिए शिक्षामन्त्री ? यस्तो छ उनको स्पष्टीकरण

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट आफूहरू बाहिरिनुको कारणबारे स्पष्टीकरण दिएका छन्।

मन्त्री पोखरेलका अनुसार कार्यक्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएका हुन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेसका विभिन्न जिल्लामा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गरिरहेको बताएका छन्।

उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दा बढी सरोकारवालाको सहभागिता थियो। आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता अवधारणाबारे पनि प्रत्यक्ष संवाद भइरहेको उनले उल्लेख गरेका छन्।

तर, अन्तरक्रियाका क्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी सहभागीको सहभागिता प्रभावित हुने अवस्था बनेको र त्यसपछि कार्यक्रमस्थलबाट बाहिरिएको पोखरेलको भनाइ छ।

यो पनि पढ्नुहोस्

मधेसमा कार्यक्रमबाटै लखेटिए सरकारका प्रवक्ता: सरकारको विरोध नियोजित कि जन आक्रोश ? 

उनले घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सम्पूर्ण घटनाको सन्दर्भ बङ्ग्याउने प्रयास भएको दाबी गरेका छन्।

‘लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ,’ पोखरेलले लेखेका छन्, ‘तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।’

पोखरेलले उक्त घटनापछि पनि आफ्नो टोलीले शिक्षा सुधारका लागि स्थलगत संवादलाई निरन्तरता दिएको बताएका छन्। उनका अनुसार सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरिएको छ भने एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको छ।

उनले आफूहरू भोलि सप्तरी हुँदै मोरङतर्फ जाने बताएका छन्।

मन्त्री पोखरेलले मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि राख्नेहरूबाट भ्रम फैलाउने प्रयास भएको संकेतसमेत गरेका छन्।

‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ उनले भनेका छन्, ‘हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्।’

मधेसमा आयोजित कार्यक्रमबाट शिक्षामन्त्री पोखरेल बाहिरिएको छोटो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे विभिन्न टिप्पणी भइरहेका बेला मन्त्रीले भने उक्त भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेटेको दाबी गरेका हुन्।

प्रकाशित: २७ भाद्र २०८३ १९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App