२७ भाद्र २०८३ शनिबार
image/svg+xml
अर्थ

असोज १ मा खुल्नेछ भदौको करदाता उपहार, दुई जनालाई १०-१० लाखको बम्पर

रसुवाको भोटेकोसीमा आएको बाढी विपत्तिका कारण रोकिएको भदौ महिनाको ‘करदाता प्रोत्साहन उपहार’ आगामी असोज १ गते घोषणा गरिने भएको छ। सो दिन दुई जना बम्पर उपहार विजेतासहित कुल ३३ जना उपभोक्तालाई पुरस्कृत गरिनेछ।

आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाभर बिल-बिजक लिएर पोर्टलमा प्रविष्ट गर्ने तथा अनलाइनबाट खरिद गर्ने उपभोक्तामध्येबाट विजेता छनोट गरिनेछ। यसअघि भदौ १६ गते हुने भनिएको पहिलो चरणको पुरस्कार घोषणा बाढी विपत्तिको असहज परिस्थितिका कारण स्थगित गरिएको थियो।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले भदौ महिनाको दुवै चरणको नतिजा असोज १ गते एकैसाथ सार्वजनिक गरिने जानकारी दिए।

यसअन्तर्गत पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म कारोबार गर्ने उपभोक्ताबाट दैनिक एक जनाका दरले १५ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन्।

सोही १५ दिनको कारोबारमा संलग्नमध्येबाट एक जना भाग्यशाली उपभोक्ताले १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कार जित्नेछन्।

त्यसैगरी दोस्रो चरणअन्तर्गत भदौ १६ देखि ३१ गतेसम्मको कारोबारबाट थप १६ जनालाई दैनिक विजेताका रूपमा जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्रदान गरिनेछ। दोस्रो चरणका उपभोक्तामध्येबाट पनि थप एक जनालाई १० लाख रुपैयाँकै बम्पर उपहार दिइने विभागले जनाएको छ।

योसँगै असोज १ गते १ लाख ३३ हजार ३३४ रुपैयाँ दरका ३१ जना र १०-१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी कुल ३३ जना उपभोक्ता छनोट हुनेछन्।

चालु आर्थिक वर्षको बजेटमार्फत घोषित यो कार्यक्रम साउन १ गतेदेखि लागू भएको हो। उपभोक्तालाई खरिद गर्दा अनिवार्य बिल लिने र कर प्रणालीमा आबद्ध हुने बानी बसाल्न प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यो उपहार योजना सञ्चालनमा ल्याएको हो।

प्रकाशित: २७ भाद्र २०८३ १८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App