नेपाली कांग्रेसले आगामी असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनअघि नै क्रियाशील सदस्यता शुल्क बुझाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ।
पार्टी केन्द्रीय कार्यालयले केही जिल्लाबाट सदस्यता शुल्क बुझाउन बाँकी रहेको भन्दै भदौ ३१ गते अपराह्न ५ बजेभित्र केन्द्रमा रकम बुझाइसक्न आन्तरिक परिपत्र जारी गरेको हो।
पार्टीको वैधानिक व्यवस्था स्मरण गराउँदै कांग्रेसले सदस्यता शुल्क भुक्तानी गरेपछि मात्रै क्रियाशील सदस्यता कायम हुने बताएको छ। यसरी कायम भएका सदस्यहरूले मात्रै आसन्न अधिवेशनमा भाग लिन पाउने पार्टीले जनाएको छ।
ललितपुरको सानेपास्थित बीपी स्मृति भवनबाट जारी प्रेस नोटअनुसार भदौ २७ गते नै सम्बन्धित जिल्लाहरूलाई यसबारे आन्तरिक परिपत्र पठाइसकिएको छ।
शुल्क नबुझाउने सदस्यहरू अधिवेशन प्रक्रियाबाट स्वतः वञ्चित हुनसक्ने भएकाले तोकिएको समयसीमाभित्र बक्यौता रकम बुझाउन पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
प्रकाशित: २७ भाद्र २०८३ १८:३८ शनिबार





